दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
दैलेख, २८ माघ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा विशाल परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ ले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजले क्षेत्रमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको तथ्य फेला परेको हो ।
यो परिमाण यसअघि गरिएको प्रारम्भिक अनुमानभन्दा निकै गुणा बढी हो । खानी तथा भूगर्भ विभागका अनुसार सुरुवाती अध्ययनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर मात्र ग्यास हुन सक्ने अनुमान गरिएको थियो । चिनियाँ प्राविधिक टोलीको विस्तृत अध्ययन र अन्तिम प्रतिवेदनले पूर्वअनुमानलाई गलत सावित गर्दै सो क्षेत्रमा ठूलो परिमाणमा उर्जाको स्रोत रहेको प्रमाणित गरेको छ ।
भण्डारणको परिमाण पुष्टि भए तापनि त्यसको व्यावसायिक उत्पादन र उत्खनन क्षमता कति छ भन्ने यकिन हुन भने बाँकी नै छ । विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार भण्डारणको आकार पत्ता लागे पनि ‘वेल टेस्टिङ’ नगरीकन कति ग्यास बाहिर निकाल्न सकिन्छ र कुन प्रविधि उपयुक्त हुन्छ भन्नेबारे अन्तिम टुङ्गो लाग्ने छैन ।
“अहिले हामीले भण्डारणको आकार मात्र पत्ता लगाएका हौँ,” प्रवक्ता खड्काले भन्नुभयो, “अबको चरणमा ड्रिल गरिएको स्थानमा आधुनिक उपकरण प्रयोग गरी चट्टान फुटाउने वा ग्यास विस्थापित गर्ने प्रक्रिया अपनाइनेछ । त्यसपछि निस्कने ग्यासको प्रयोगशाला परीक्षण गरी व्यावसायिक उत्पादनको योजना बनाइनेछ ।”
विज्ञहरूका अनुसार दैलेखमा फेला परेको ग्यास अमेरिकामा उत्खनन गरिने ‘शेल वा टाइट ग्यास’ प्रकृतिको छ । यस्तो ग्यास जमिनमुनि चट्टानका पत्रहरूमा च्यापिएर रहने भएकाले यसलाई सतहमा निकाल्न प्राविधिक रूपमा कठिन र खर्चिलो मानिन्छ । व्यावसायिक प्रयोजनका लागि ती कडा चट्टानहरू फोडेर मात्र ग्यास निकाल्न सकिने चुनौती रहेको छ ।
नेपाल सरकार र चीनको जियोलोजिकल सर्वेबीच २ अर्ब ४० करोड रुपैयाँको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो । सोही सम्झौताअनुसार चिनियाँ टोलीले सेस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटोटेल्युरिक सर्वे र जियोकेमिकल सर्वे सम्पन्न गरेको हो ।
हाल प्राप्त प्रतिवेदनमाथि विभागले थप अध्ययन गरिरहेको छ । थप कामका लागि नेपाल सरकारले चीनसँग पुनः अनुदान सहयोगको आग्रह समेत गरेको छ ।
दैलेखमा परापूर्वकालदेखि बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर क्षेत्रका ज्वालाहरूलाई मुख्य आधार मानेर २०७६ असोजदेखि अन्वेषण कार्य सुरु गरिएको थियो । यो ग्यास खानीको मुद्दा आगामी निर्वाचनमा पनि दैलेखका राजनीतिक दलहरूको मुख्य चुनावी एजेन्डाका रूपमा देखिएको छ ।