जर्मन विद्यार्थीको आर्थिक सहयोगमा काभ्रेमा विद्यालय भवन निर्माण
काठमाडौँ, फागुन ५ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३, साझाकोटस्थित भीमसेन प्राथमिक विद्यालयको नवनिर्मित पक्की भवनको सोमबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। जर्मनीका विद्यार्थीहरूको आर्थिक सहयोगमा निर्मित तीन कोठे एकतले भवनको गाउँपालिका अध्यक्ष दिनेश लामा र जर्मनीस्थित हिमालयन परियोजनाका प्रमुख माइकल हुसेनले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।
जर्मनीको ओच्सेहौसेन ग्याम्नासुम हाइस्कुलमा अध्ययनरत करिब ७०० विद्यार्थीहरूले प्राचार्य इल्की रेमार्फत सङ्कलन गरेको ३१ लाख ७७ हजार ३०० रुपियाँ लागतमा उक्त भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि हिमाली गाउँ संरक्षण नेपालले हिमालयन परियोजनासँग आवश्यक समन्वय र सहजीकरण गरेको परियोजना प्रमुख हुसेनले जानकारी दिनुभयो ।
स्थानीय जग्गादाताहरू टङ्कबहादुर राउत र दमाइसिं तामाङले नि:शुल्क उपलब्ध गराउनुभएको जमिनमा विद्यालय भवन निर्माण गरिएको प्रधानाध्यापक मनिका राउतले बताउनुभयो । भवन उद्घाटनकै अवसरमा विद्यालयलाई शैक्षिक प्रयोजनका लागि परियोजनाका तर्फबाट एक थान ल्यापटप समेत हस्तान्तरण गरिएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिनेश लामाले नयाँ भवन निर्माणसँगै विद्यार्थीहरूलाई सुरक्षित र प्रविधिमैत्री वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले शिक्षा क्षेत्रको विकासलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि पालिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो ।
समारोहमा गाउँपालिका उपाध्यक्ष मिमबहादुर लामा, वडा नं. ३ का अध्यक्ष धनजित लामा, वडा नं. ५ का अध्यक्ष निरध्वज लामा र समाजसेवी टुल्कु लागायतले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा विद्यालयका लागि अमूल्य जमिन प्रदान गर्ने जग्गादाताद्वय राउत र तामाङलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।