सुर्खेतमा शंकास्पद वस्तु डिस्पोज : तर्साउन राखिएको कुकरभित्र भेटियो गोबर र माटो
सुर्खेत, १९ फागुन । सुर्खेतको छिन्चुस्थित सडक खण्डमा बम जस्तो देखिने गरी राखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज (निष्क्रिय) गरेको छ। डिस्पोजका क्रममा उक्त प्रेसर कुकरभित्र विस्फोटक पदार्थ नभई गोबर र माटो मात्र राखिएको पाइएको छ।
मंगलबार बिहान भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डको नालामा रातो प्लास्टिकले बेरिएको अवस्थामा एउटा प्रेसर कुकर फेला परेको थियो। कुकरको नजिकै रातो प्लास्टिककै पोकामा ‘खतरा’ लेखेर राखिएपछि त्रास फैलिएको थियो। स्थानीयको सूचनालगत्तै घटनास्थल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय पारेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीका अनुसार, डिस्पोज गर्दा कुकरभित्र माटो र गोबर मात्र भरिएको भेटिएको थियो।
निर्वाचनको समय नजिकिँदै गर्दा सर्वसाधारणलाई तर्साउने र समाजमा त्रास फैलाउने उद्देश्यले विरोधी तत्व वा समूहले यस्तो नक्कली बम (होक्स) राखेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
एसपी शाहीले समाजमा आतंक सिर्जना गर्न खोज्ने त्यस्ता व्यक्ति वा समूहको पहिचानका लागि खोजी कार्य तीव्र पारिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।