ललितपुरको कुपण्डोलस्थित ‘दाउरा थकाली’ रेष्टुराँमा आगलागी : भौतिक संरचनामा ठूलो क्षति, मानवीय क्षति टर्यो
काठमाडौँ, फागुन १९ । ललितपुर महानगरपालिका वडा नं. १, कुपण्डोलमा अवस्थित ‘दाउरा थकाली’ रेष्टुराँमा आज दिउँसो भीषण आगलागी भएको छ। विद्युत् सर्ट भई सल्किएको आगो सुरक्षा निकाय र वारुणयन्त्रको सक्रियतामा नियन्त्रणमा लिइएको छ। आज दिउँसो करिब ३ः४५ बजे रेष्टुराँमा अचानक आगलागी सुरु भएको थियो। भवनको आठौँ तलामा सञ्चालित उक्त रेष्टुराँमा विद्युत् सर्ट हुनु आगलागीको मुख्य कारण रहेको प्रारम्भिक अनुमान गरिएको छ। आगलागी लगत्तै ललितपुर महानगरपालिकाको प्रहरी र दमकल टोली घटनास्थल पुगेर आगो निभाउन सफल भएको थियो ।
ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार आगलागीबाट रेष्टुराँको आठौँ तला पूर्ण रूपमा जलेर नष्ट भएको छ। उहाँले भन्नुभयो, “हामीले तत्कालै पुगेर आगो नियन्त्रणमा लियौँ, जसका कारण आगो अन्य तलामा फैलिन पाएन। तर, रेष्टुराँको माथिल्लो भागमा रहेका संरचनाहरू पूर्ण रूपमा क्षति भएका छन्।”
यस दुर्घटनामा कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ। आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण संकलन गर्ने प्रक्रिया जारी रहेको छ ।
आगलागी नियन्त्रणका लागि ललितपुर महानगरका बारुणयन्त्र र सुरक्षाकर्मीहरू परिचालित भएका थिए। समयमै आगो नियन्त्रणमा आएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको स्थानीय प्रशासनले जनाएको छ ।