म्याग्दीमा ९.१४ मेगावाटको ‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको निर्माण सुरु

काठमाडौँ, वैशाख २८ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा नौ दशमलव १४ मेगावाट क्षमताको ‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको भौतिक पूर्वाधार निर्माण कार्य सुरु भएको छ। सुपर घलेम्दी हाइड्रोपावर प्रालिद्वारा प्रबद्र्धित यस आयोजनाले हाल बाँधस्थल जोड्ने पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ।

 नारच्याङको घलेम्दी र रेलेखोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा रहने बाँधस्थलसम्म कूल ५.५ किलोमिटर पहुँचमार्गमध्ये २ किलोमिटरको काम सम्पन्न भइसकेको छ । करिब १ अर्ब ८० करोड रुपैयाँको लागत अनुमान गरिएको यो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बाँधदेखि ४.२ किलोमिटर लामो पाइपलाइनमार्फत ल्याइएको पानीलाई ४२० मिटरको उचाइबाट विद्युत्गृहमा खसालेर बिजुली निकालिनेछ । आयोजनामा ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ। यसका लागि ग्लोबल आइएमई र माछापुच्छ्रे बैंकसँग वित्तीय सम्झौताको प्रस्ताव गरिएको छ । साथै, प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर छुट्याइएको छ । आयोजना निर्माणका लागि आवश्यक ५४६ रुख कटानको अनुमति प्राप्त भइसकेको छ।

जलविद्युत्को ‘हब’ बन्दै नारच्याङ:
नारच्याङ क्षेत्र जलविद्युत् उत्पादनको केन्द्रको रूपमा विकास भइरहेको छ। वडाअध्यक्ष लोकबहादुर पुनका अनुसार यस क्षेत्रमा हालसम्म १६२ मेगावाट क्षमताका ५ वटा आयोजना (घलेम्दीखोला, मिस्तीखोला, नीलगिरि–१ र २, तथा रेलेखोला) निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

यसबाहेक, ६६.३ मेगावाटको मध्य कालीगण्डकी निर्माणाधीन छ भने १८४ मेगावाटको कालीगण्डकी गर्ज लगायतका अन्य ठूला आयोजनाहरू पनि निर्माणको प्रक्रियामा रहेका छन्। सुपर घलेम्दीको निर्माणसँगै यस क्षेत्रको ऊर्जा विकासमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।