भोजपुरको सिंहदेवी माविमा आधुनिक ‘इलर्निङ सेन्टर’ स्थापना : ग्रामीण शिक्षा प्रविधिमैत्री बन्दै

काठमाडौँ, वैशाख २८ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९, लेखर्कस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ‘इलर्निङ सेन्टर’ स्थापना गरिएको छ । ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई समयसापेक्ष, गुणस्तरीय र प्रविधिमैत्री शिक्षासँग जोड्ने उद्देश्यले यो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

डिजिटल पूर्वाधार र सामग्री
ईश्वर मन्दिर काठमाडौँको विशेष पहलमा सञ्चालित यस अभियानअन्तर्गत विद्यालयलाई २० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी तथा अन्य आवश्यक डिजिटल सामग्रीहरू उपलब्ध गराइएको छ। यससँगै विद्यालयमा औपचारिक रूपमा डिजिटल शिक्षण प्रणालीको सुरुवात भएको छ ।

अभियानको उद्देश्य
ईश्वर मन्दिर काठमाडौँका महासचिव सङ्केत कोइरालाले दुर्गम क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग साक्षात्कार गराउन यो अभियान सुरु गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “शिक्षामा प्रविधिको प्रयोगले सिकाइ प्रक्रियालाई अझ प्रभावकारी र रोचक बनाउँछ। हामीले भोजपुरका अन्य दुर्गम विद्यालयहरूमा पनि यो कार्यक्रम विस्तार गर्ने लक्ष्य राखेका छौँ ।”

शैक्षिक गुणस्तरमा सुधारको अपेक्षा
विद्यालयका प्रधानाध्यापक राजधन राईले इलर्निङ सेन्टरको स्थापनाले विद्यालयको समग्र शैक्षिक वातावरणमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। अब विद्यार्थीहरूले डिजिटल माध्यमबाट पाठ्यवस्तुको अध्ययन, अनुसन्धान र व्यावहारिक ज्ञान हासिल गर्न सहज हुने उहाँको भनाइ छ।

स्थानीय सरकारको ऐक्यबद्धता
टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले सामुदायिक विद्यालयमा प्रविधिमैत्री पूर्वाधार विकास हुनु सकारात्मक कदम भएको बताउनुभयो। गाउँपालिकाले पनि शिक्षा क्षेत्रको सुधारका लागि योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्दै उहाँले यस्ता सहकार्यले आधुनिक शिक्षण प्रणालीमा लगानी बढाउन थप बल पुग्ने धारणा व्यक्त गर्नुभयो ।

यो केन्द्र स्थापना भएसँगै सिंहदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरू अब कक्षाकोठाको सीमित घेराभन्दा बाहिर निस्केर प्रविधिमार्फत विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम हुने अपेक्षा गरिएको छ ।