वीरगञ्ज महानगरमा प्रमुख प्रशासकीय अधिकृतको हाजिरीमा अवरोध : १० दिनदेखि कँडेल प्रतीक्षामा

काठमाडौँ, जेठ ६ । सङ्घीय सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई वीरगञ्ज महानगरपालिकाले हाजिर गर्न रोक लगाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को गत फागुन १२ गतेको निर्णयानुसार सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कँडेललाई महानगरले कार्यभार सम्हाल्ने वातावरण नबनाइदिएको हो ।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत कँडेल विगत १० दिनदेखि वीरगञ्जमा भए तापनि महानगरपालिकाले हाजिर गराउन अस्वीकार गर्दै आएको छ । महानगर प्रमुख राजेशमान सिंहले कँडेलले सरुवा भएलगत्तै आउन ढिलाइ गरेको आरोप लगाउनुभएको छ ।

“उहाँ सरुवा हुनेबित्तिकै आउन चाहनुभएन, अहिले मन्त्रालयले ताकेता गरेपछि मात्र आउन खोज्नुभएकाले हामीले हाजिरी गराउन नखोजेका हौँ,” महानगर प्रमुख सिंहले भन्नुभयो । उहाँले कँडेलको सट्टा अर्को नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन मन्त्रालयसँग माग गरिरहेको समेत जानकारी दिनुभयो ।

यता, प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने आफू महानगरको कार्यालयमा गएर हाजिर हुने उपयुक्त वातावरणको प्रतीक्षामा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “विगत १० दिनदेखि वीरगञ्जमै छु, तर महानगरमा हाजिर गर्ने अवस्था बनेको छैन । म अहिले जिल्ला प्रशासन कार्यालयमा बसेर हाजिर हुने वातावरणको पर्खाइमा छु ।”

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले यस विषयमा मन्त्रालय र महानगरबीच समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँले केही दिनभित्रै यो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा वीरगञ्ज महानगरपालिकाको प्रशासनिक तथा आर्थिक कार्यहरू प्रभावित भएका छन्। मन्त्रालयले गत वैशाख ४ गते साविकका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको आर्थिक र प्रशासनिक जिम्मेवारी हटाएपछि महानगर हाल नेतृत्वविहीन अवस्थामा रहेको छ । प्रमुख प्रशासकीय अधिकृतको अभावमा विकास निर्माणका काम र दैनिक कार्यसम्पादनमा समेत बाधा पुगेको महानगरले जनाएको छ ।