मानवीयतामा आधारित काठमाडौँ सहरको व्यवस्थापन

काठमाडौँ सहयोगापेक्षी मानवमुक्त घोषणा : घोषणा साकार गराउन थप जिम्मेवार भएर काम गर्ने कार्यवाहक प्रमुख डंगोलको प्रतिवद्धता

काठमाडौँ, जेठ २६ ।  काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको छ । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक समारोहमा ‘जो वेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित कार्यवाहक प्रमुख सुनिता डंगोलले, सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गर्दै यसको कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गर्नुभएको छ । यसपछिका दिनमा सडक वा सार्वजनिक स्थलमा भेटिन सक्ने सहयोगापेक्षीहरुको व्यवस्थापन कार्यमा सम्पर्क, सम्बन्ध, सहयोग र समन्वय तथा एकीकृत प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यका साथ गरिएको सम्झौता पत्रमा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डंगोलले, नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

‘यो घोषणा मात्र होइन, मानवतामा आधारित सहर बनाउने र भविष्यप्रति जिम्मेवार बन्ने अभियानको थालनी पनि हो’– कार्यवाहक प्रमुख डंगोल

‘बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाडौँ महानगरपालिका क्षेत्र घोषणा २०८३ को कार्यान्वयन सुनिश्चितताका निमित्त आवश्यक पूर्वाधारहरू खडा गर्न, संयन्त्र विकास गर्न, सम्बन्धित कार्यालय, निकाय तथा स्थानहरूमा घोषणा सम्बन्धी सूचनाहरू सम्प्रेषण गर्न हामी प्रतिवद्धता व्यक्त गर्दछौँ ।’ हस्ताक्षरकर्ताहरुले संयुक्त प्रतिवद्धता जनाउनुभएको छ ।
घोषणा तथा घोषणा कार्यान्वयन सम्झौतापछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले, काठमाडौँलाई सांस्कृतिक सहरसँगै मानवतामा आधारित सहरको पहिचानका रुपमा स्थापित गराउने कामप्रति थप जिम्मेवार हुन सडक सहयोगापेक्षी मानवमुक्त काठमाडौँ घोषणा गरिएको बताउनुभयो ।

‘न त यो शुरुवात् हो । न अन्त्य नै हो । हामीले विगत ९ वर्षदेखि निरन्तर काम गरिरहेका छौँ । र, भविष्य यसलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नेछौँ ।’ डंगोलले भन्नुभयो, ‘आजसम्म सहरमा देखिएका भेटिएका सबै सहयोगापेक्षीहरुलाई उद्धार गरेका छौँ । भोलि कोही सडकमा यसै गरी देखिनुभयो भने, भेटिनुभयो भने तत्काल उद्धार तथा पुनःस्थापनाका लागि संयन्त्र परिचालन गर्नेछौँ ।’ उहाँले थप्दै भन्नुभयो, ‘मानवता प्रवर्धनका लागि गैरसरकारी संस्थाले थालनी गरेको अभियानमा सरकारकातर्फबाट सहकार्य थालनी गर्ने सबैभन्दा पहिलो निकाय काठमाडौँ महानगरपालिका हो भन्दा गौरव हुन्छ । मानिसहरुका बिचमा दया र करुणा प्रवर्धन गरेर, पारिवारिक तथा सामाजिक सद्भावलाई बढाएर काठमाडौँ महानगरपालिकाले लोककल्याणकारी राज्य स्थापना गर्न सरकारलाई सहयोग प्रदान गरिरहनेछ ।’
समारोहमा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले, यसअघि जे हुनुपथ्र्यो, त्यो हुन नसकेको बताउँदै मानवता प्रवर्धनमा अब कमजोरी हुन दिनु नहुने बताउनुभयो । ‘जिम्मेवार पदमा बस्दा आफूले गर्न नसकेको कामप्रति ग्लानी छ ।’ उहाँले विगतको प्रायश्चितलाई आगामी दिनमा गरिने कर्मबाट पूरा गर्ने धारणा व्यक्त गर्नुभयो । त्यस अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सुरक्षाप्रति आम बुझाइमा स्पष्ट पार्दै भन्नुभयो, ‘सुरक्षालाई भौतिक सुरक्षाका रुपमा मात्र बुझ्ने गरिएको छ । हामीले वृहत्तर सुरक्षाको कुरा गर्दा, स्वास्थ्य, शिक्षा, खाद्यजस्ता आधारभूत प्राप्तिका विषय छोड्नु हुँदैन । काठमाडौँमा महानगरपालिका र नेपाल प्रहरी मिलेर अब एकीकृत सुरक्षाका काम गर्नेछौँ ।’

महानगरपालिकाले २०७४ सालदेखि मानव सेवा आश्रमसँगको सहकार्यमा हरेक वर्ष औसतमा २ करोड रुपियाँ खर्च गरिरहेको छ ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले, विकासको सूचकहरुमध्ये मानव सुरक्षा महत्वपूर्ण सूचक रहेकोले यसलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । ‘समस्या सिर्जना नहुन् भन्न हामीले सामाजिक क्षेत्रमा मानव विकास र व्यवस्थापनका कामलाई महत्व दिने गरेका छौँ ।’ के. सी. को भनाइ थियो ।

अहिलेसम्म सहयोगापेक्षीको व्यवस्थापनमा गरिएका प्रयासका विषयमा प्रस्तुतिकरण गर्दै आश्रमका अध्यक्ष अधिकारीले, आजको घोषणा र सम्झौताले मानवीयता प्रवर्धनका लागि ठोस नतिजा र दिगोपनामा सहयोग पुग्ने बताउनुभयो । अधिकारीका अनुसार उद्धार तथा पुनस्र्थापना गरिएका सहयोगापेक्षीहरुमा विदेशी नागरिकहरु पनि हुनुहुन्छ । उहाँका अनुसार भारतका ३१३ जना, पाकिस्तानाक १ जना, वंगालादेशका ९ जना, अमेरिकाका २ जना, रुस, चीन, फ्रान्स र वेलायतका १–१ जना नागरिकलाई सडकबाट उद्धार गरिएको हो । अधिकारीले संख्यामा नतिजा सुनाउँदै भन्नुभयो, ‘स्थापना कालदेखि अहिलेसम्म देशभरिबाट हामीले १३ हजार ६९८ जनालाई उद्धार गरेका छौँ । २०७४ मंसिर १ गते यता काठमाडौँ महानगरपालिका क्षेत्रबाट मात्र १ हजार ५७१ पुरुष र ८५० जना महिला गरी २ हजार ४२१ जनाको उद्धार र व्यवस्थाको काम भएको छ ।’

यही समारोहबाट मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले सञ्चालन गरेको मेची महाकाली अभियान पनि समापन भएको छ । यस अवधिमा १९७ जना सहयोगापेक्षीको उद्धार र व्यवस्थापन गरिएको अध्यक्ष अधिकारीको भनाइ छ । फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले आजको दिनलाई आफूले पवित्र दिनका रुपमा सम्झना गर्न चाहेको उल्लेख गर्नुभयो ।

समारोहमा बोल्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संस्कृतिविद तथा आश्रमका संरक्षक डा. गोविन्द टण्डन लगायत वक्ताले सहयोगापेक्षी मानवमुक्त घोषणा भएको दिनलाई आफूहरुले हेर्न, सुन्न र अनुभूति गर्न अपेक्षा गरेको दिनका रुपमा पाएको धारणा राख्नुभयो । यो कामको दिगोपनाका लागि राज्यले नीति बनाउनुपर्छ । अहिलेसम्म दिनरात सेवामा लाग्ने समर्पित स्वयमसेवकहरुलाई प्रोत्साहन, सम्मान र पहिचान दिनुपर्छ । अभियानको सफलताका लागि सबै क्षेत्रबाट सक्रियतापूर्वक काम गर्नुपर्छ । यसका लागि आफ्नो दायित्वमा पर्ने काम पूरा गर्ने प्रतिवद्धता छ । वक्ताहरुले धारणा राख्नुभयो ।

कार्यवाहक प्रमुख डंगोलले गर्नुभएको घोषणाको पूर्ण पाठ
“जो बेसहाराः महानगरपालिकाको अभिभारा”

सहयोगापेक्षी, बेसहारा, अभिभावकविहिन, सडक आश्रित मानवमुक्त काठमाडौँ महानगरपालिका
घोषणा पत्र

नेपालको संविधानले परिकल्पना गरेको सम्मानित, समतामूलक, न्यायपूर्ण तथा मानवअधिकारमैत्री मानवीय समाज निर्माण गर्ने महानगरपालिकाको संकल्पलाई आत्मसात् गर्दै खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गरिरहेका, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारिरीक रुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्धार, औषधोपचार, पालनपोषण र पारिवारिक पुनर्मिलन गर्ने कार्यमा मानव सेवा आश्रमसँगको एक दशक देखिको सहकार्यमा व्यवस्थापनको कार्य हुँदै आएकोमा काठमाडौँ महानगरपालिका क्षेत्रलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बनाउन आवश्यक पूर्वाधारको निर्माण, व्यवस्थापन तथा सहकार्य गर्ने संयन्त्रको विकास र भविष्यका लागि निरन्तर सेवा प्रदान गर्न आवश्यक व्यवस्थापकीय प्रबन्ध गरिएको हुँदा काठमाडौँ महानगरपालिका क्षेत्रलाई सहयोगापेक्षी सडकआश्रित मानवरहित मानवीयताको सहर काठमाडौँ कायम गर्ने पवित्र उद्देश्यले सगौरव यो घोषणा गरिएको छ ।

आज काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमका बिच भएकोचारपक्षीय प्रतिबद्धता पत्र यस घोषणा कार्यान्वयनको अभिन्न अङ्ग हुनेछ । सरोकारवाला सबै पक्षको सहकार्यले यो घोषणा कार्यान्वयनलाई मूर्त रुप दिनेछ भन्ने कुरामा विश्वस्त छु ।

सम्झौतामा उल्लेख गरिएका हरेक पक्षका दायित्व 

सडक तथा सार्वजनिक स्थलमा रहेका र भविष्यमा रहन सक्ने बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, सहयोगापेक्षी (आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा हेरचाह र भरणपोषण गरीदिने परिवार र आफन्त समेत नभएका) सडकआश्रित मानवको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले भएको सम्झौतामा हरेक कार्यालयका दायित्व तोकिएका छन् । सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाडौँ महानगर घोषणा गरेपछि सम्बद्ध सरोकारवाला निकाय तथा पदाधिकारीहरू बिच नियमित सम्पर्क, समन्वय, सहकार्य र साझेदारीमा घोषणाको यथार्थ कार्यान्वयन गर्नका लागि दायित्व तोकिएका हुन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख जिम्मेवारी
क) सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाडौँ महानगर घोषणा कार्यान्वयनको मुख्य नेतृत्व लिने र यस सम्झौताका साझेदार सरोकारवाला निकाय र सहयोगापेक्षी सडकआश्रित मानवहरू बढी जसो फेला पर्ने गरेका क्षेत्रहरूका जिम्मेवार संघसंस्थाका प्रमुखहरू तथा अन्य सम्बन्धित सरोकारवाला निकायहरूसँग नियमित समन्वय गर्ने र सहयोगापेक्षीको नियमित उद्धार र पारिवारिक पुर्नमिलनमा आवश्यक सहयोग तथा सहजीकरण गर्ने ।
ख) नेपाल सरकार, प्रदेश सरकार तथा अन्य सम्बद्ध निकायहरूसँग आवश्यक समन्वय गर्ने÷गराउने ।
ग) होल्डिङ् सेन्टर, स्क्रिनिङ् सेन्टर र आश्रमको सेवा सञ्चालनका लागि आवश्यकपर्ने सरसामान उपलब्ध गराउने ।
घ) सडकपेटी एवं सार्वजनिक स्थलहरूबाट उद्घार गरिएका बेसहारा, असहाय, अशक्त मानवहरूमध्ये अस्पतालमै भर्ना गराइ उपचार गराउनुपर्ने भएमा त्यस्ता विरामीहरूको निःशुल्क औषधी उपचारको लागि सरकारी तथा निजी अस्पतालहरूसँग समन्वय गर्ने, अन्य सम्भावित सहयोगी संघसंस्था, व्यवसायी, वित्तिय तथा कर्पोरेट क्षेत्रसँग समन्वय गरी गराई आवश्यक व्यवस्था मिलाउने ।
ङ) उद्दार गरिएका सहयोगापेक्षी सडक आश्रित मानवको दिगो तथा न्यूनतम मानवीय व्यवस्थापनको लागि उपयुक्त भवन निर्माणको जिम्मेवारी वहन गर्ने ।
च) उल्लिखित कार्यहरू गर्नका लागि काठमाडौँ महानगरपालिकाको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने, नियमित अनुगमन गर्ने र मानव सेवा आश्रमलाई आवश्यक लजिष्टिक सहयोग उपलब्ध गराउने एवम् निरीक्षण गरी आवश्यक निर्देशन दिने ।

नेपाल प्रहरीको प्रमुख जिम्मेवारी
क) सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्घार एवं पारिवारिक पुनर्मिलनका लागि आवश्यक सहजीकरण गर्ने ।
ख) दिवाकालीन तथा रात्रीकालीन समयमा सडकआश्रित मानव उद्धार कार्यमा सहयोग गर्ने तथा आवश्यक सुरक्षा प्रदान गर्ने ।
ग) सडक आश्रित मानवलाई सडकमा बस्न निरूत्साहित गर्ने, वास्तविक बेसहारा सहयोगापेक्षी मानवहरूलाई मानवसेवा आश्रममा पु¥याउने, घर फिर्ता पठाउन वा कोठा लिएर व्यवस्थित जीवनयापन गर्न सहजीकरण गर्ने तथा लागुपदार्थ र मदिरा सेवन गरी सार्वजनिक स्थलहरूमा अशान्ति, असुरक्षा र अव्यवस्थित अवस्था सृजना गर्ने व्यक्तिहरूलाई कानुनको दायरामा ल्याउने, आवश्यक कारवाही गर्ने ।
घ) सडकबाट उद्दार गरिएका सडकआश्रित मानवहरूको फोटो सहितको विवरण तयार पारी अभिलेख राख्ने ।
ङ) होल्डिङ सेन्टर, स्क्रीनिङ सेन्टर तथा मानवसेवा आश्रमको सुरक्षाको प्रबन्ध मिलाउने, सेन्टर छाडी कोही भागेमा निजको खोजी कार्यको लागि आवश्यक मद्दत गर्ने, सेन्टर वा मानवसेवा आश्रममा आश्रित मानवहरूको मृत्यु भएमा दाहसंस्कारको लागि आवश्यक कानुनी प्रक्रिया मिलाउन सहजीकरण गर्ने ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिम्मेवारी
क) सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाडौँ महानगर क्षेत्र घोषणा कार्यान्वयनको लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउने ।
ख) पारिवारिक पुनर्मिलन हुनसक्ने सम्भावित सहयोगापेक्षीहरूलाई पारिवारिक पुनर्मिलन गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय/प्रहरीसँग समन्वय गर्ने/गराउने ।
ग) आफ्ना आमाबाबु वा आफन्तसँग आश्रित परिवारका सदस्यलाई आदर तथा सम्मानका साथ आफ्नो हैसियत अनुसार हेरचाह, स्याहार, औषधोपचार, शिष्ट र सभ्य व्यवहार नगरेमा त्यस्ता व्यक्तिलाई कानुनी तथा नैतिक कर्तव्य पालना गर्न गराउन सचेत गराउने, आवश्यकता बमोजिम सहयोग, समन्वय एवम् सहजीकरण गर्ने ।
घ) सडक आश्रित मानवहरूलाई सडकमै बस्न दुरूत्साहन गर्ने वा परिचालन गर्ने व्यक्ति, समूह वा संघसंस्था तथा कुनै व्यक्तिको गैरकानुनी तथा अमानवीय कार्यबाट अर्को व्यक्तिलाई असहाय, अशक्त तथा सहयोगापेक्षी सडकआश्रित बन्नुपर्ने अवस्था सिर्जना भएको देखिएमा आवश्यक कानुनी कारवाही गर्ने ।
ङ) सहयोगापेक्षी सडकआश्रित मानवहरूको सम्बन्धित आश्रमहरूमा गरिएको व्यवस्थापन सम्बन्धमा सम्बन्धित संस्थाबाट नियमित सूचना लिने, समय समयमा निरीक्षण गर्ने तथा संस्थालाई आवश्यक निर्देशन गर्ने ।

मानवसेवा आश्रमको प्रमुख जिम्मेवारी
क) सडकआश्रित मानव बसोबास गर्ने काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सम्भावित सडक तथा सार्वजनिकस्थलहरूको अवस्था अध्ययन तथा उद्धार कार्यमा परिचालन भई अन्य निकाय तथा पदाधिकारीहरूको समेत सहकार्य र रोहवरमा उनीहरुको अवस्था अध्ययन तथा सामुहिक उार कार्यलाई सन्देशमूलक एवम् रचनात्मक बनाउन प्रयत्नरत रहने ।
ख) होल्डिङ सेन्टर, स्क्रीनिङ सेन्टर र आश्रममा स्वयंसेवक परिचालन गरी दैनिक सञ्चालन तथा व्यवस्थापन गर्ने ।
ग) सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाडौँ महानगर क्षेत्र घोषणा २०८३ लाई कार्यान्वयन गर्ने ।
घ) सहयोगापेक्षी सडक मानवहरूको यथार्थ अवस्था तथा उनीहरूप्रति आम मानिसले गर्ने व्यवहारलाई चित्रण गरी सडक नाटक, मानवता प्रवर्धनको लागि सहयोग पुग्ने किसिमका तालिम तथा अन्य कार्यक्रमहरू गर्ने, प्रचार सामाग्रीहरू तथा जनचेतनामूलक कार्यक्रमहरु जनस्तरमा पु¥याउने ।
ङ) काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरूमा मानवता प्रवर्धनका लागि उत्प्रेरणात्मक कार्यक्रमहरू नियमित रुपमा सञ्चालन गर्ने/गराउने र सोको प्रतिवेदन नियमित रुपमा काठमाडौँ महानगरपालिकामा पेश गर्ने ।
च) जनचेतनामूलक कार्यहरू प्रभावकारी ढंगबाट सञ्चालन गर्ने र सो कार्यको प्रतिवेदन नियमित रुपमा काठमाडौँ महानगरपालिकामा पेश गर्ने ।

सम्झौता बमोजिमको कार्य गर्न काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन हुनेछ । समितिका सदस्यहरुको संयोजकत्वमा कार्यान्वयन उपसमिति र परिचालन टोली गठन हुनेछ ।

यस्तै सम्झौताका पक्षहरू र अन्य सम्बद्ध निकाय तथा पदाधिकारीहरूको नियमित बैठक, सम्झौताको प्रभावकारी कार्यान्वयन योजना, कार्यक्रम तथा स्रोत साधनको प्रबन्ध मिलाउन एक समन्वय समिति रहनेछ । समितिमा पक्षहरूले तोकेका एक÷एक जना प्रतिनिधि र आवश्यक संख्यामा अन्य संस्थाका प्रतिनिधिहरू आमन्त्रित रहन सक्ने व्यवस्था गरिएको छ ।