आकाशको लीला : दिउँसो ‘आगो’ ओकल्ने सूर्य, हरेक राति वर्षा
काठमाडौँ, जेठ २६ । महोत्तरीको जेठ महिना, जहाँ तातो हावा (लु) ले मानिसको सातो लिन्छ र जमिनका चिराहरूले आकाशतिर पानीको भिक्षा मागिरहेका हुन्छन् । यसपालि पनि जेठको तेस्रो सातासम्म अवस्था उस्तै थियो । सूर्यदेवले आगो ओकलिरहेका थिए, तापक्रम ३९ डिग्री सेल्सियस नाघिरहेको थियो र गर्मी सहन नसकेर विद्यालयहरू धमाधम बन्द भइरहेका थिए ।
तर, गत शुक्रबारदेखि महोत्तरी र आसपासका जिल्लामा प्रकृतिको एउटा अनौठो र सुखद चक्र सुरु भएको छ । यहाँको मौसम अहिले दुईवटा विपरीत चरित्रमा बाँडिएको छ, दिउँसो ‘मरुभूमिको जस्तो राप’ र राति ‘पहाडको जस्तो झरी’ ।
प्रकृतिको मल्हम : दिउँसोको घाउमा रातको राहत
दिनभरि उखरमाउलो गर्मीले आकुलव्याकुल बनेका सर्वसाधारणका लागि रातको वर्षा सितल ओखती बनेर आउने गरेको छ। गौशाला १ रामनगरका ६५ वर्षीय गणेश महतो यो फेरिएको मौसम देखेर अचम्मित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिउँसो त खपीनसक्नु गर्मी हुन्छ, लाग्छ शरीरै डढ्छ कि क्या हो! तर शुक्रबारदेखि हरेक रात बादल गर्जन्छ र दर्केर पानी पर्छ । यसले ज्यानलाई निकै राहत दिएको छ ।”
यो रात्रिकालीन वर्षाले केवल मानिसलाई शितलता मात्र दिएको छैन, महिनौँदेखि प्यासी रहेको धर्ती र सुक्न लागेका बालीनालीलाई पुनर्जीवन समेत दिएको छ ।
किसानको खुसी : धुले ब्याड र ‘अमृत’ वर्षा
लामो खडेरीका कारण निरास बनेका किसानहरूका लागि यो वर्षा ‘अमृत’ सावित भएको छ । आकाशबाट पानी बर्सिन थालेपछि खेतबारीमा चहलपहल ह्वात्तै बढेको छ । बर्दिबास ६ का ६० वर्षीय किसान रघु काफ्ले अहिले धानको ब्याड राख्न व्यस्त हुनुहुन्छ ।
“माटोमा प्रशस्त चिस्यान भएपछि हामीले धुले ब्याड राख्यौँ,” काफ्लेले उत्साहका साथ सुनाउनुभयो, “दिनभरिको अचाक्ली गर्मीले गर्दा काम गर्न गाह्रो त छ, तर रातको पानीले खेतीपातीलाई सजिलो बनाइदिएको छ । धान मात्र होइन, कोदोको ब्याड राख्न पनि अहिले चटारो छ ।”
उखु, मकै र तरकारी खेती गर्ने किसानहरूका लागि पनि यो वर्षा बरदान बनेको छ। हिउँदभरि पानी नपरेर मुहान सुक्न थालेपछि चिन्तित बनेका किसानहरू अब भने केही आशावादी देखिएका छन् ।
पुनः गुञ्जिन थाले विद्यालयका घण्टी
केही दिनअघिसम्म गर्मीकै कारण महोत्तरीका स्थानीय तहहरूले विद्यालय बन्द गर्ने लहर चलेको थियो । ३८/३९ डिग्रीको तापक्रममा बालबालिकालाई विद्यालय पठाउन सम्भव थिएन । तर, रातभरिको वर्षाले मौसममा ल्याएको केही सुधारसँगै सोमबारदेखि विद्यालयहरू पुनः सञ्चालन हुन थालेका छन् ।
बर्दिवास नगर कार्यपालिकाको शिक्षा शाखाका अधिकृत रमण निरौलाका अनुसार रातिको वर्षाले बिहानी र दिउँसोको मौसममा केही शितलता ल्याएपछि बन्द गरिएका विद्यालयहरू फेरि खुल्न थालेका हुन् । यसले विद्यार्थीहरूको पढाइमा पुगेको अवरोधलाई हटाएको छ ।
आशाका नयाँ मुहान
तराईमा खानेपानीको मुख्य स्रोत रहेका इनार र चापाकलहरू सुक्ने क्रममा थिए। तर, लगातार चार रातदेखि भइरहेको सघन वर्षाले जमिनमुनिको पानीको सतह बढ्ने र सुकेका मुहानहरू फेरि रसाउने विश्वास पलाएको छ। भङ्गाहा ४ का किसान कुशेश्वर यादव भन्नुहुन्छ, “अब इनार र नदीमा पानी रसाउने आश जागेको छ। मुहान रसाए खानेपानीको समस्या पनि टर्थ्यो र सिँचाइ गर्न पनि सजिलो हुन्थ्यो ।”
जेठको यो चर्को घाम र रातको झरीले एउटा सन्देश दिएको छ, प्रकृतिले एकातिर तपाउँछ भने अर्कोतिर शान्त पार्ने उपाय पनि सँगै ल्याउँछ। महोत्तरीका बासिन्दा अहिले यही ‘अजब’ मौसमको चक्रबीच आफ्नो भविष्यको खेती गोडमेल गर्दैछन् । दिउँसोको पसिना पुछ्दै उनीहरू रातको वर्षाको प्रतीक्षा गर्छन्, जसले भोलिको बिहानीलाई केही शीतल बनाउनेछ ।