बजेटले माग सम्बोधन नगरेकाे भन्दै सामूहिक राजीनामा दिने अनुदान शिक्षकहरूकाे चेतावनीसहित माइतीघरमा धर्ना
काठमाडौँ, २६ जेठ । सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकहरूले आफ्ना पेसागत मागहरू सम्बोधन नगरेको भन्दै काठमाडाैंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । आर्थिक वर्ष २०८३–८४ को बजेटले आफूहरूको पेसागत निरन्तरता, स्थायित्व र सेवा–सुविधालाई पूर्णतः बेवास्ता गरेको भन्दै शिक्षकहरू सडकमा उत्रिएका हुन् ।
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागी शिक्षकहरूले सरकारले विगतमा गरेका सहमतिहरू लत्याएको आरोप लगाएका छन् ।
हाल देशभर माध्यमिक र आधारभूत तहमा अङ्ग्रेजी, गणित तथा विज्ञानजस्ता कठिन विषयहरू अध्यापन गराउने करिब ११ हजार अनुदान शिक्षकहरू कार्यरत छन् । उनीहरूले सम्मानजनक तलब वृद्धि, महँगी भत्ता र प्रोत्साहन भत्ताको माग राखेका छन् ।
यदि मागहरू तत्काल सम्बोधन गरिएन भने अनुदान शिक्षकहरूले देशभरको पठनपाठन ठप्प पार्ने र सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
आन्दोलनको क्रममा शिक्षकहरूले प्रतीकात्मक विरोध स्वरूप विद्यालय पोसाक, परिचयपत्र, नियुक्तिपत्र र मार्कर पेनसहित प्रदर्शन गरेका थिए ।