एमाले कार्यदल बैठकको निर्णयः असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
काठमाडौं, २६ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने भएको हो।
बैठकले तय गरेको कार्यतालिका अनुसार विभिन्न प्रदेश तथा संरचनागत निकायहरूमा सुझाव सङ्कलन कार्यक्रम यस प्रकार सञ्चालन हुनेछन्स्
जेठ ३० गतेः बागमती प्रदेश
असार २ गतेः कोशी प्रदेश
असार ४ गतेः लुम्बिनी प्रदेश
असार ६ गतेः सुदूरपश्चिम प्रदेश
असार ८ गतेः कर्णाली प्रदेश
असार ११ गतेः गण्डकी प्रदेश
असार १३ गतेः मधेश प्रदेश
असार १६ गतेः राजधानी
असार १७ गतेः सम्पर्क समन्वय
असार १८ गतेः जनसंगठन
असार १९ गतेः विभाग प्रमुख तथा निकायका पदाधिकारीहरू
प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहनेछ। कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, कार्यदलको सदस्य–सचिवको जिम्मेवारी शंकर पोखरेललाई दिने निर्णय पनि बैठकले गरेको छ। बैठकमा अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध, संगठित र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्तालाई जनतामाझ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो । उहाँले संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी राजनीतिक कार्यदिशाबारे आफ्नो धारणा पनि राख्नुभएको थियो।
बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल भएको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयो ।