काठमाडौँ महानगरको नगर सभा जेठ ३१ मा आह्वान : नेपाल भाषाको पाठ्यक्रम स्वीकृत
काठमाडौँ, जेठ २६ । काठमाडौँ महानगरपालिकाले नगर सभाको १९ औँ अधिवेशन आगामी जेठ ३१ गतेका लागि आह्वान गरेको छ । काठमाडौँ प्लाजास्थित सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ५० औँ कार्यपालिका बैठकले जेठ ३१ गते आइतबार बिहान ११ बजेका लागि अधिवेशनको मिति तय गरेको हो ।
नेपाल भाषाको पाठ्यक्रम स्वीकृत
बैठकले नेपाल भाषाको ‘बाल विकास तथा पूर्व प्राथमिक तह’को परिमार्जित पाठ्यक्रम स्वीकृत गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको नेतृत्वमा स्थानीय पाठ्यपुस्तकहरूमा गरिएको समसामयिक परिमार्जनलाई कार्यपालिकाले अनुमोदन गरेको हो । शिक्षा अधिकारी नमराज ढकालले समितिको सिफारिस बमोजिम स्थानीय विषयका रूपमा यो पाठ्यक्रम स्वीकृतिका लागि पेस गर्नुभएको थियो ।
सुकुम्बासी र स्वबासी व्यवस्थापनमा चासो
कार्यपालिका बैठकमा वडा सदस्य तथा विभिन्न समितिका संयोजकहरूले सुकुम्बासी तथा स्वबासी व्यवस्थापनका विषयमा कुरा उठाएका थिए । वडा नं. ६ का अध्यक्ष भुवन लामा, विधायन समितिका संयोजक मचाराजा महर्जन लगायतले स्वबासीलाई सुकुम्बासीसरह व्यवहार नगर्न र वास्तविक स्वबासीको विवरण तत्काल संकलन गर्न माग गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सुकुम्बासी समस्या समाधानका लागि नेपाल सरकार र महानगरको संयुक्त टोलीले अध्ययन गरिरहेको जानकारी दिनुभयो । टोलीले १५ कार्यदिनभित्र दिने प्रतिवेदनले निकास निकाल्ने उहाँको विश्वास थियो ।
अन्य महत्वपूर्ण छलफल
सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाबाट प्रभावित स्थानीयलाई सरकारले मर्का पारेको भन्दै ध्यानाकर्षण गराउनुभयो । कार्यपालिका सदस्यहरूले यसमा ऐक्यवद्धता जनाएका छन् । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले सामाखुशी नदी किनारा मापदण्ड कार्यान्वयन गर्दा निजी सम्पत्ति गुमाउने परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र भवन अभिलेखन कार्यलाई निरन्तरता दिनुपर्ने प्रस्ताव राख्नुभयो । वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले बहाल कर उठाउने अधिकारको निर्वाध प्रयोग र भ्यु टावर निर्माण प्रक्रियामा छलफलको माग गर्नुभयो । त्यस्तै, वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्कीले कर्मचारीको हाजिरी प्रणालीलाई थप व्यवहारिक बनाउन सुझाव दिनुभयो ।
बैठकमा उठेका कानुनी तथा प्राविधिक प्रश्नहरूमा राजस्व विभागका प्रमुख दिपक अधिकारी र निर्देशक वसन्त आचार्यले प्रष्टीकरण दिनुभएको थियो ।