मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बेपत्ता : खोजी कार्य तीव्र
काठमाडौँ, साउन २० । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा पोखराका तीन युवक सम्पर्कविहीन भएका छन् । पोखरा महानगरपालिका १४ निवासी अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ पदयात्राका क्रममा बेपत्ता भएका हुन् ।
माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा नजिकैको जङ्गलमा बाटो बिराएर उनीहरू अलपत्र परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मर्दी हिमालको ‘हाइ क्याम्प’बाट फर्कने क्रममा उनीहरू सम्पर्कविहीन भएको र हाल मोबाइल फोनसमेत बन्द रहेको जानकारी प्राप्त भएको छ ।
माछापुच्छ्रे ६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालका अनुसार, युवकहरू हराएको सूचना प्राप्त हुनासाथ बिहानैदेखि खोजी कार्यलाई तीव्रता दिइएको छ । प्रहरी र स्थानीयको टोलीले सो क्षेत्रमा गहन खोजी गरिरहेको छ ।