रसुवामा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, पाँच जना घाइते
काठमाडौं, २३ असोज, । रसुवामा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएकाे छ भने दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
रसुवाकाे आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ गइरहेको बा५ख ५७८ नम्बरको आइचर मिनी ट्रक साँझ करिब पौने ६ बजे दुर्घटना भएको हाे ।
दुर्घटनामा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएकाे छ ।
दुर्घटनामा घाइते भएकाहरुमध्ये एक जनाको खुट्टा भाँचिएकाेले जिल्ला अस्पतालमा उपचार भइरहेको र अन्य सामान्य घाइते भएकोले उपचारका लागि अस्पताल पनि पुर्याउन नपरेको प्रहरीले जनाएको छ ।