सुनको मूल्य तोलाकै दुई लाख नजिक

काठमाडौँ, ३० जेठ । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँको भारी वृद्धि हुँदै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, गत मङ्गलबार मात्र प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा केही दिनकै अन्तरालमा ७ हजार १०० रुपैयाँले वृद्धि भइसकेको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । बिहीबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीहरू बताउँछन् ।