चेपाङ समुदायको राष्ट्रिय उत्सव न्वांगी पर्व मनाइँदै
काठमाडौँ, भदौ २२ । चेपाङ समुदायले आज आफ्नो महत्वपूर्ण राष्ट्रिय तथा धार्मिक पर्व न्वांगी (छोनाम) मनाउँदैछन् । हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाइने यो पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ । यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६, कालिखोलामा देशभरका चेपाङ समुदाय एकै ठाउँमा भेला भएर न्वांगी मनाउँदैछन् । नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार, चेपाङ बाहुल्य रहेका चितवन, मकवानपुर, धादिङ र गोरखामा पालैपालो गरी भदौ २२ गते यो पर्वलाई उत्सवका रूपमा मनाइन्छ । यसमा सहभागी हुन नसक्नेहरूले भने आ-आफ्नो घर र टोलमा पर्व मनाउने गर्छन् ।
न्वांगी पर्व भदौ महिनाभरि मनाइने भए पनि भदौ २२ गते विशेष रूपमा सामूहिक भेला र सांस्कृतिक कार्यक्रमसहित मनाइन्छ । चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल तथा अन्नपात खानु हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वांगी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालु लगायतका नयाँ अन्न र फलफूल भूमि तथा पितृलाई चढाउने गरिन्छ । यस दिन चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यो नयाँ अन्न खाने दिन पनि हो ।
पर्वको दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने परम्परा छ । यो पर्वले समुदायमा एकता र सद्भाव बढाउन मद्दत गर्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालमा चेपाङको सङ्ख्या ८४ हजार ३६४ रहेको छ र उनीहरूको बसोबास २६ जिल्लामा फैलिएको छ । चितवनमा ३५ हजार ६३७, मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा ४ हजार २६८ चेपाङहरू छन् । चेपाङहरूको राष्ट्रिय पर्व न्वांगीका अवसरमा बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिँदै आएको छ । गोरखाको गण्डकी गाउँपालिकाले पनि यस दिन सार्वजनिक बिदा दिन्छ ।
चेपाङ समुदायले परम्परागत रूपमा घरघर र टोलमा मनाउँदै आएको न्वांगी पर्वलाई नेपाल चेपाङ सङ्घको अगुवाइमा २०६३ सालदेखि भदौ २२ गते सामूहिक रूपमा मनाउन थालिएको हो ।