समयमै रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ – अध्ययन
काठमाडौँ, असोज ४ । वीर अस्पतालले गरेको एक अध्ययनले समयमै मिर्गौला रोगको पहिचान गर्न सके ९० प्रतिशत मिर्गौला बचाउन सकिने देखाएको छ । अस्पतालमा पछिल्लो समय ५०० जना मिर्गौला बिग्रेर निकालिएका बिरामीहरूमाथि गरिएको अध्ययनले यो तथ्य बाहिर ल्याएको हो । अस्पतालका युरोसर्जरी विभाग प्रमुख कन्सल्ट्यान्ट प्रा. डा. रबिनबहादुर बस्नेतले अध्ययनमा सहभागी ५०० जनामध्ये ४७० जनाको मिर्गौला समयमै उपचार गरेको भए बचाउन सकिने अवस्थामा रहेको बताउनुभयो । बाँकी ३० जनाको मात्र मिर्गौला जोगाउन नसकिने अवस्थामा थिए । उहाँका अनुसार जनचेतनाको कमीका कारण नियमित जाँच नगर्दा धेरैको मिर्गौला बचाउन नसकिएको हो ।
मिर्गौला बिग्रनुका मुख्य कारणहरू
अध्ययनअनुसार मिर्गौला बिग्रनुका मुख्य कारणहरू पत्थरी, जन्मजात समस्या र क्यान्सर हुन् ।
पत्थरी: ६५ प्रतिशत बिरामीमा पत्थरीका कारण मिर्गौला बिग्रिएको पाइएको छ । पत्थरीले पिसाबको बाटो बन्द गरिदिँदा मिर्गौला फुलिन्छ र बिग्रन्छ । एउटा मिर्गौला फुलिए पनि अर्कोले काम गरिरहेकाले बिरामीले तत्काल थाहा नपाउने हुँदा दुवै मिर्गौलामा असर पर्ने सम्भावना रहन्छ ।
जन्मजात समस्या: १५ प्रतिशत बिरामीमा जन्मजात मिर्गौलाको पिसाब थैलीमा जाने मुख बन्द भएका कारण २० देखि ३० वर्षको उमेरमा मिर्गौला बिग्रने समस्या देखिएको छ ।
मिर्गौलाको क्यान्सर: १० प्रतिशत बिरामीमा मिर्गौलाको क्यान्सरका कारण मिर्गौला बिग्रिएको पाइयो ।
अन्य सङ्क्रमण: ४ प्रतिशत बिरामीमा अन्य सङ्क्रमणले मिर्गौला बिग्रने गरेको अध्ययनले पुष्टि गरेको छ ।
मिर्गौलामा असर पार्ने अन्य कारणहरू:
-
पानी कम पिउने।
-
मधुमेहका बिरामीहरू।
-
मद्यपानको अत्यधिक सेवन।
-
आफूखुसी ‘पेनकिलर’ औषधि (जस्तै: आइबुप्रोफेन, निमेसुलाइड) को सेवन।
प्रा. डा. बस्नेतले वीर अस्पतालमा मिर्गौला बिग्रेका ५०० जनामध्ये २२० जना पहिलोपटक अस्पताल आएको जानकारी दिनुभयो । अध्ययनले पुरुषको तुलनामा महिलामा डेढ गुणा बढी मिर्गौला बिग्रने समस्या देखाएको छ ।
मिर्गौला बचाउनका लागि सुझाव
मिर्गौला बचाउनका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । दैनिक तीन लिटर पानी पिउने, मोटोपन घटाउने, प्रशस्त फलफूल खाने र नियमित मिर्गौलाको जाँच गर्ने जस्ता उपायहरू अपनाउनुपर्दछ ।