अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि १४ जना नेपाली खेलाडीलाई ओलम्पिक छात्रवृत्ति
काठमाडौँ, पुस ४ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आगामी लस एन्जलस ओलम्पिक २०२८, एसियाली खेलकुद २०२६ र विश्व युवा ओलम्पिक २०२६ लाई लक्षित गर्दै १४ जना नेपाली खेलाडीलाई विशेष छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार सातदोबाटोस्थित ओलम्पिक कमिटीको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच एनओसी, सम्बन्धित खेल सङ्घ र खेलाडीहरूबीच छात्रवृत्ति सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सन् २०२८ मा अमेरिकामा आयोजना हुने लस एन्जलस ओलम्पिकका लागि आठ जना खेलाडी छनोट भएका छन् । छात्रवृत्ति पाउने खेलाडीहरूमा प्रिन्स दाहाल (ब्याडमिन्टन), उषा खनाल (साइक्लिङ), सद्भाव आचार्य (गल्फ), मनिता प्रधान श्रेष्ठ (जुडो), इभाना थापा (टेबल टेनिस), शिभाली गुरुङ (टेनिस), तेन्जिङ राई (स्पोर्ट्स क्लाइम्बिङ) र अर्विन श्रेष्ठ (पौडी) हुनुहुन्छ ।
यी प्रत्येक खेलाडीले मासिक १ हजार १२५ अमेरिकी डलर (करिब १ लाख ५० हजार रुपियाँ) छात्रवृत्ति स्वरूप प्राप्त गर्नेछन् ।
सन् २०२६ मा जापानको नागोयामा हुने २०औँ एसियाली खेलकुदका लागि पाँच जना खेलाडीले छात्रवृत्ति पाएका छन् । छात्रवृत्ति प्राप्त गर्नेहरूमा तिलक पुन मगर (आर्चरी), चन्द्रबहादुर थापा (बक्सिङ), सुष्मिता तामाङ (उसु), एरिका गुरुङ (कराते) र सानुमाया थिङ (कराते) रहनुभएको छ। उहाँहरूले जनही मासिक ५० हजार रुपैयाँ प्राप्त गर्नुहुनेछ ।
सेनेगलमा आयोजना हुने डकार वल्र्ड युथ गेम्स २०२६ का लागि उसुकी रश्मी तामाङलाई छनोट गरिएको छ। उहाँले पनि मासिक ५० हजार रुपियाँ छात्रवृत्ति पाउने सम्झौता भएको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीहरूलाई बधाई दिँदै सम्बन्धित खेल सङ्घहरूसँगको समन्वयमा उत्कृष्ट प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको जानकारी दिनुभयो । उहाँले राज्यको तर्फबाट पनि खेलकुदको विकासका लागि आगामी दिनमा थप सकारात्मक र व्यवस्थित वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
यो छात्रवृत्तिले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण र तयारीका लागि ठूलो आर्थिक सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न खेल सङ्घका पदाधिकारीहरू तथा प्रशिक्षकहरूको समेत उपस्थिति रहेको थियो ।