धुलिखेलमा ‘डी-टाउन बास्केटबल एकेडेमी’ को शुभारम्भ : दुईवटा नयाँ कोर्ट निर्माण गरिने
काठमाडौँ, पुस १९ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा खेलकुदको विकास र प्रवर्धन गर्ने उद्देश्यले ‘डी-टाउन बास्केटबल एकेडेमी’ स्थापना गरिएको छ । धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जूले शुक्रबार एक कार्यक्रमका बीच प्रशिक्षार्थी खेलाडीहरूलाई बास्केटबल हस्तान्तरण गर्दै एकेडेमीको औपचारिक शुभारम्भ गर्नुभयो ।
एकेडेमीमा पहिलो चरण अन्तर्गत करिब चार दर्जन खेलाडीहरूले प्रशिक्षण लिने भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ब्याञ्जूले नगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षभित्रै नगरका विद्यालय हाताभित्र एक र सार्वजनिक खुला स्थानमा एक गरी दुईवटा नयाँ बास्केटबल कोर्ट निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । एकेडेमीमार्फत व्यावसायिक खेलाडी उत्पादन, क्षमता अभिवृद्धि र खेल पूर्वाधार विकासमा नगरपालिकाले विशेष ध्यान केन्द्रित गर्ने उहाँको भनाइ थियो ।
सो अवसरमा नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष पवन थापा र जिल्ला अध्यक्ष शिव थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बास्केटबलको आकर्षण बढिरहेको उल्लेख गर्दै स्थानीय सरकारको समन्वयमा खुलेको यस एकेडेमीले खेलाडीहरूको व्यावसायिकतामा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
धुलिखेल नगरपालिका पछिल्लो समय खेलकुद पूर्वाधार निर्माणमा सक्रिय देखिएको छ । नगरपालिकाको वडा नं. ११ मा हक्की एशोसिएसनको सहयोगमा २३ करोड रुपियाँको लागतमा हक्की रङ्गशाला निर्माण भइरहेको छ भने यसै वर्ष २ करोड ३७ लाख रुपियाँको लागतमा कभर्ड-हल निर्माणको प्रक्रिया समेत सुरु गरिएको छ ।