नागढुङ्गामा साढे दुई किलो चाँदीसहित वीरगञ्जका युवक पक्राउ : बसभित्र लुकाएर ल्याउँदै गर्दा साढे १६ लाखको गहना बरामद

काठमाडौँ, १३ माघ । काठमाडौँको मुख्य नाका नागढुङ्गामा प्रहरीले अवैध चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बसमा जाँच गर्ने क्रममा २ किलो ५ सय ग्राम चाँदीसहित एक युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २५ वर्षीय किसन साह रहेका छन् ।

प्रहरी प्रभाग नागढुङ्गाको टोलीले सोमबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नम्बरको बसलाई नियमित चेकजाँचका लागि रोकेको थियो । सो क्रममा साहले बसभित्र लुकाएर ल्याएको अवस्थामा चाँदीका गहना र बिस्कुट फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार बरामद गरिएको चाँदीको बजार मूल्य करिब १६ लाख ९० हजार रुपैयाँ रहेको छ ।

अवैध रूपमा राजस्व छली गरी चाँदी ओसारपसार गरेको आरोपमा पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

निर्वाचनको मुखमा प्रहरीले नाकाहरूमा सुरक्षा जाँच कडा पारेसँगै अवैध सामान ओसारपसार गर्नेहरू पक्राउ पर्ने क्रम बढेको छ । प्रहरीले उक्त चाँदी कहाँबाट ल्याइएको र काठमाडौँमा कसलाई बुझाउन लागिएको थियो भन्ने विषयमा खोजी गरिरहेको छ ।