नेप्सेमा दोहोरो अङ्कको दबाब: परिसूचकसँगै ७ अर्बमा खुम्चियो कारोबार रकम
काठमाडौँ, ४ फागुन । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। अघिल्लो साताको अन्तिम दिन बिहीबार सामान्य अंकले बढेर बन्द भएको बजार यस साताको सुरुवातमै ओरालो लागेको हो।
सोमबार नेप्से परिसूचक ८.१६ अङ्कले घटेर २६६२.९१ विन्दुमा ओर्लिएको छ। परिसूचकसँगै यस दिन सेन्सेटिभ इण्डेक्स १.०६ अङ्क, फ्लोट इण्डेक्स ०.५६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अङ्कले ओरालो लागेका छन्।
बजार परिसूचकसँगै कारोबार रकममा पनि संकुचन देखिएको छ। गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ। यस दिन ३३५ कम्पनीका १ करोड ९६ लाख १६ हजार कित्ता शेयर ८० हजार ५५९ पटक कारोबार भएका छन्।
बजार घटे पनि यस दिन तीनवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। बुद्ध भूमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भयो। रिलायन्स र सालपा आजैदेखि नेप्सेमा कारोबारमा आएका नयाँ कम्पनी हुन्। त्यस्तै, अप्पर साङ्गे हाइड्रोपावरको मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ।
यता, खानी खोला हाइड्रोपावरका लगानीकर्ताले भने आज सबैभन्दा बढी ९.३८ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा आज रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६५ करोड ३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। यस्तै, आँखु खोला जलविद्युतको ५२ करोड ५० लाख र ङादी ग्रुप पावरको ४८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये १० वटाको परिसूचक घटेको छ भने मात्र ३ वटा उपसमूह (वित्त, होटल तथा पर्यटन, र उत्पादन तथा प्रशोधन) सामान्य बढेका छन्। जलविद्युत उपसमूहमा सबैभन्दा बढी १.०२ प्रतिशतको गिरावट देखिएको छ।