ग्यासको कालोबजारी रोक्न विभागको सक्रियता: अवैध कारोबारबारे ११३७ मा सूचना दिन आग्रह
काठमाडौँ, ३ चैत । खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने वा बढी मूल्य लिने विरुद्ध वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही प्रक्रिया तीव्र पारेको छ। विभागले ग्यासको अवैध कारोबार भइरहेको फेला परे तत्काल टोल–फ्री (निःशुल्क) नम्बर ११३७ मा जानकारी दिन आम उपभोक्तालाई अनुरोध गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण नेपालमा ग्यासको अभाव हुन सक्ने भन्दै केही व्यवसायीले कालोबजारी गर्न थालेपछि विभागले यस्तो कदम चालेको हो। देशभरका जुनसुकै स्थानबाट ११३७ मा फोन गरेर उपभोक्ताले आफ्नो गुनासो वा सूचना टिपाउन सक्ने व्यवस्था मिलाइएको छ।
विभागले हाल देशभर स्थलगत अनुगमन र निरीक्षणलाई तीव्रता दिएको छ। अनुगमनका क्रममा कैफियत फेला पर्नेबित्तिकै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल जरिवाना र कानुनी कारबाही गरिने विभागले प्रष्ट पारेको छ। नेपाल आयल निगमले बजार व्यवस्थापनका लागि हाल आधा सिलिन्डर (७.१ केजी) मात्रै ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको भए पनि केही स्थानमा अझै अभाव कायमै रहेको भन्दै विभागले कडा निगरानी थालेको हो।
यसैक्रममा विभागले सोमबार ललितपुरको हरिसिद्धिमा रहेको श्रीराम ग्यास उद्योगको गोदाममा छापा मारेको छ। अनुगमनका क्रममा उक्त उद्योगले ६ हजार ३७७ वटा भरिएका सिलिन्डर लुकाएर राखेको फेला परेपछि विभागले तत्काल ३ लाख रुपैयाँ जरिवाना गरेको छ। ग्यासको माग उच्च रहेको यस विषम परिस्थितिमा कृत्रिम अभाव सिर्जना गर्ने जो–कोहीलाई नछोडिने विभागको चेतावनी छ।
विभागले सबै ग्यास उत्पादक, उद्योगी र वितरकहरूलाई प्रचलित कानुनअनुसार पारदर्शी रूपमा व्यापार व्यवसाय गर्न सचेत गराएको छ। आपूर्ति प्रणालीमा सहजता ल्याउन र गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न विभाग पूर्ण रूपमा सक्रिय रहेको जनाउँदै उपभोक्तालाई ढुक्क हुन र कालोबजारी गर्नेको सूचना दिएर सहयोग गर्न आग्रह गरिएको छ।