काठमाडाैंका यी क्षेत्रमा आज ५ घण्टा बिजुली काटिने

काठमाडौँ, ८ जेठ । काठमाडौँको शङ्खमुल र बुद्धनगर क्षेत्रमा आज (शुक्रबार) ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले शङ्खमुल फिडर अन्तर्गतको विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यका लागि सो क्षेत्रमा विद्युत् कटौती गर्न लागेको हो।

प्राधिकरणका अनुसार काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले शङ्खमुल फिडरमा काम गर्ने भएकाले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

प्राधिकरणले निर्धारित काम समयभन्दा अगावै सकिएमा तोकिएको समयभन्दा अघि नै विद्युत् सेवा सुचारु गरिने जानकारी दिएको छ। यद्यपि, मौसम प्रतिकूल भएमा (वर्षा भएमा) भने विद्युत् कटौती र भूमिगत गर्ने कार्य स्थगित हुने प्राधिकरणको सूचनामा उल्लेख छ।