पहाडी भेगमा वर्षा र हिमपात, सुदूरपश्चिममा ‘लु’ को जोखिम
काठमाडौँ, ८ जेठ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको दोहोरो प्रभावका कारण देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहँदा तराईका केही क्षेत्रमा भने अत्यधिक गर्मी बढ्ने देखिएको छ ।
यसअघि बुधबार र बिहीबार पनि यी प्रणालीको प्रभावले देशका विभिन्न जिल्लामा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यस्तै, मधेश प्रदेशका केही भाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि वर्षा र उच्च हिमाली भेगमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
एकातिर वर्षाको सम्भावना रहँदा अर्कोतिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भने गर्मीले जनजीवन प्रभावित हुने देखिएको छ । सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागमा ‘तातोलहर’ (Heatwave) चल्ने र लुम्बिनीमा ‘तातो दिन’ हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।