एमाले सचिवालय बैठक अध्यक्ष ओलीको निवास गुण्डुमा जारी, नेताहरूको कार्यविभाजन टुङ्ग्याइँदै

काठमाडौँ, ८ जेठ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसिरहेको छ। बैठकले पार्टीका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने मुख्य कार्यसूची तय गरेको छ।

अध्यक्ष ओलीले गत सोमबारको बैठकमा पेस गरेको नेताहरूको जिम्मेवारी बाँडफाँटसम्बन्धी प्रस्तावलाई आजको बैठकले आवश्यक परिमार्जनसहित टुङ्गो लगाउनेछ। आजै कार्यविभाजनको निर्णय गरी ‘अन्तरपार्टी निर्देशन’ (अपानि) मार्फत तल्लो तहसम्म सर्कुलर पठाउने एमालेको तयारी छ।

गत मङ्सिरमा सम्पन्न ११औँ महाधिवेशन र फागुन २१ को निर्वाचनपछि एमालेले नेताहरूको स्थायी कार्यविभाजन गर्न लागेको हो। प्रस्तावित सूचीअनुसार सचिव भानुभक्त ढकाललाई सङ्गठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसङ्गठन र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने तयारी छ। उपाध्यक्ष र उपमहासचिवहरूलाई भने विभागहरूको समन्वय र अनुगमनको भूमिका दिइने प्रस्ताव गरिएको छ।

अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यहरूलाई आगामी स्थानीय तहको निर्वाचन लक्षित ‘मिसन स्थानीय चुनाव’ को जिम्मेवारी दिएर गाउँ–गाउँमा खटाउने योजना समावेश छ।