महोत्तरीमा डुबेर एकै दिन चार बालिकाको मृत्यु
काठमाडौँ, जेठ ८ । महोत्तरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा डुबेर आज एकै दिन चार बालिकाको दुःखद मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मनरासिस्वा नगरपालिकामा तीन जना र गौशाला नगरपालिकामा एक बालिकाको ज्यान गएको हो ।
मनरासिस्वा नगरपालिका-७, सरपल्लो गाउँका वीरेन्द्र भण्डारीका दुई छोरीहरू-१२ वर्षीया स्नेहाकुमारी र ६ वर्षीया शिवानीकुमारी-तथा सोही ठाउँका अजिज नदाफकी १२ वर्षीया छोरी अफसाना खातुनको नदीमा डुबेर मृत्यु भएको छ । अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका उनीहरूको खुट्टा चिप्लिएर नदीको गहिरो भागमा डुबेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, गौशाला नगरपालिका-४, रजखोर गाउँमा दुई वर्षीया बालिका दीपिका कुमारीको मृत्यु भएको छ । नरेश महतोकी छोरी दीपिकाको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले जानकारी दिनुभयो ।
मृतक चारै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।