रुसद्वारा बेलारुसमा परमाणु हतियार तैनाथ: के यो नयाँ युद्धको संकेत हो?

 

मिन्स्क (एजेन्सी), ८ जेष्ठ । रुस र उसको निकटतम सहयोगी मुलुक बेलारुसबीच हालै सम्पन्न संयुक्त सैन्य अभ्यासले विश्व राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ। बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले पहिलो पटक रुसको ‘रणनीतिक र सामरिक परमाणु हतियार’ प्रयोगको अभ्यासमा प्रत्यक्ष सहभागिता जनाएसँगै युरोपमा तनाव बढेको छ।

गत मंगलबारदेखि बिहीबारसम्म चलेको यस विशाल सैन्य अभ्यासको नेतृत्व रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र लुकासेन्कोले संयुक्त रूपमा गरेका थिए। पूर्वी युरोपदेखि प्रशान्त महासागरसम्म फैलिएको यस अभ्यासमा सयौँ मिसाइल लन्चर, युद्धक विमान, युद्धपोत र परमाणु पनडुब्बीहरू परिचालन गरिएको थियो।

‘हामी कसैलाई धम्की दिँदैनौँ’
७१ वर्षीय राष्ट्रपति लुकासेन्कोले अभ्यासका क्रममा भने, “हामीले कसैलाई धम्की दिएका होइनौँ। तर हामीसँग यस्ता हतियार छन् र आफ्नो मातृभूमिको रक्षाका लागि हामी हरदम तयार छौँ।” सन् १९९४ देखि सत्तामा रहेका लुकासेन्कोलाई पश्चिमा देशहरूले ‘युरोपको अन्तिम तानाशाह’ भन्ने गर्छन्।

के-के भयो सैन्य अभ्यासमा?
यस अभ्यासको मुख्य आकर्षण ‘यार्स’  नामक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलको सफल परीक्षण रह्यो। रुसको उत्तर-पश्चिमी क्षेत्रबाट प्रहार गरिएको यो मिसाइलले ५,७५० किलोमिटरको दूरी तय गर्दै प्रशान्त महासागरको कामचटका प्रायद्वीपमा रहेको निसाना सफलतापूर्वक भेदेको थियो।

यसका साथै रुसले बेलारुसलाई परिमार्जित सु-२५ लडाकु विमान र ५०० किलोमिटर सम्म मार हान्न सक्ने ‘इस्कान्दर-एम’ मिसाइलहरू उपलब्ध गराएको छ। यी हतियारहरू युक्रेनी सीमाभन्दा मात्र २०० किलोमिटर टाढा रहेको आसिपोविची सैन्य अखडामा राखिएको बताइएको छ।

नेटो र युक्रेनको चिन्ता
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस अभ्यासलाई रुसले उत्तरी युक्रेनमा नयाँ मोर्चा खोल्ने तयारीको रूपमा व्याख्या गरेका छन्। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गर्दा बेलारुसी भूमिलाई ‘स्प्रिङबोर्ड’को रूपमा प्रयोग गरेको थियो।

यता, नेटोका महासचिव मार्क रुटले रुसलाई चेतावनी दिँदै भनेका छन्, “यदि मस्कोले युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गरेमा त्यसको परिणाम विनाशकारी हुनेछ।” स्वीडेनमा भइरहेको नेटो विदेश मन्त्रीहरूको सम्मेलनकै समयमा रुसले यो अभ्यास गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

हतियार प्रदर्शन कि कूटनीतिक चाल?
केही राजनीतिक विश्लेषकहरू यसलाई वास्तविक युद्धको तयारी भन्दा पनि पश्चिमा देशहरूलाई तर्साउने ‘धम्कीको राजनीति’  मान्छन्। विश्लेषक इगार टिसकेविचका अनुसार, लुकासेन्कोले एकातिर परमाणु हतियारको धाक देखाइरहेका छन् भने अर्कोतिर युक्रेनसँग वार्ताका लागि बाटो पनि खुला राख्न चाहन्छन्।

आर्थिक संकटमा फसेको बेलारुसमाथि युरोपेली युनियनले कडा प्रतिबन्ध लगाएको छ। यस्तो अवस्थामा लुकासेन्कोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ मा जोडिएर केही प्रतिबन्धहरू खुकुलो बनाउने प्रयास गरिरहेका छन्।

यद्यपि लुकासेन्कोले आफू युक्रेन युद्धमा प्रत्यक्ष सहभागी नहुने दाबी गर्दै आएका छन्, तर रुसी परमाणु हतियारको बेलारुसमा उपस्थिति र बढ्दो सैन्य गतिविधिले पूर्वी युरोपमा सुरक्षा चुनौती थप जटिल बनाएको छ। विश्लेषक भोलोडिमिर फेसेन्को भन्छन्, “लुकासेन्को युद्धमा होमिन डराउँछन्, तर शक्ति सन्तुलन मिलाउन उनी जुनसुकै हदसम्म जान सक्छन्।”