विपक्षी चार दलको मोर्चाबन्दी, प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निर्णय

काठमाडौँ, १० जेठ । प्रतिपक्षी चार दलले संसदमा सरकारको सशक्त विरोध गर्ने भएका छन्। आज विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकहरूको बैठकले जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निर्णय गरेका हुन्।

कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीबीच छलफल भएको हो । बैठकले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले संसद्लाई उपेक्षा गरेको निष्कर्ष निकालेको छ।

एमाले प्रमुख सचेतक महरले संसदीय मूल्यमान्यता विपरीत विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैर लोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको जानकारी दिनुभयो ।