बहाल–बहिल हाम्रा संस्कृति र गौरवपूर्ण इतिहास हुन्, यस्को पुनरुस्थानका लागि महानगरपालिका तयार छः काबा मेयर डंगोल

काठमाडौँ, १० जेठ । काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले बहाल–बहिल हाम्रा संस्कृति र गौरवपूर्ण इतिहास भएको भन्दै तिनीहरुको पुनरुस्थानका लागि महानगरपालिका तयार रहेको जानकारी दिनुभएको छ ।

नेपाल मण्डल लिटरेचर कल्चरल ट्रष्टले आयोजना गरेको ‘बहाल–बहिल संस्कृति सामाजिक अध्ययन’ विषयक गोष्ठीलाई सम्वोधन गर्दै डंगोलले यस्तो बताउनु भएको हो ।


‘काठमाडौँ भित्र भएका बहाल–बहिलहरूको वस्तुगत परिस्थिति र सामाजिक पक्षहरूका विषयमा यसरी गोष्ठी गरेर एक अर्काको बहाल–बहिलका बारेमा जान्ने–बुझ्ने अवसर दिनु आफैँमा राम्रो सुरुवात हो,’ डंगोलले भन्नुुभयो, ‘काठमाडौँ भित्र भएका १६ वटा बहिलहरू मध्ये अहिले कतिवटा बहिलहरु नाम छ तर ती बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख नासिँदै गएको अवस्था छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका बहाल–बहिलको काठमाडौं महानगरपालिका पुनरुस्थान गर्न चाहन्छ । त्यसका लागि हामी तयार छौँ । तर, त्यसको पुनरुस्थानका लागि के–के गर्नुपर्छ तपाईँहरुले योजना बनाएर ल्याउनुहोला ।’

डंगोलले बहाल–बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख तयार गर्दै पुनरुस्थानसहित हस्तान्तरण, पुस्तान्तरणका लागि पनि योजना बनाएर अघि बढ्न सुझाव दिनुभयो । ‘हामीले पुनरुस्थान गर्दै–गर्दा त्यहाँको सौँदर्य, ऐतिहासिक र धार्मिक पक्षलाई पनि ख्याल गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्योसँगै मुर्त–अमुर्त सम्पदाको संरक्षण र संवद्र्धनमा पनि हाम्रो ध्यान जान जरुरी छ । बहाल–बहिलको विकास, संरक्षण र पुस्तान्तरणका लागि हामी हातेमालो गरे अघि बढौँ भनेर आग्रह गर्न चाहन्छु ।’

उहाँले नेपालमण्डलको ऐतिहासिक बौद्ध विहार र मौलिक परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरेको सो गोष्ठीले केही नयाँ योजनासहित अघि बढ्नेमा आफू विस्वस्त रहेको पनि जानकारी दिनुभयो ।

बहाल–बहिलको संस्कृतिको अध्ययन र अनुसन्धान आजको आवश्यकता भएको भन्दै गोष्ठीमा सहभागी विज्ञहरुको उपस्थितिमा ऐतिहासिक सम्पदा, बौद्ध दर्शन र परम्परागत सामाजिक संरचनालाई उजागर गर्ने विषयमा गहन छलफल गरेको ट्रष्टका अध्यक्ष सन्ध्या बज्राचार्यले जानकारी दिनुभयो ।

छलफलका क्रममा मुख्य बहाल–बहिलको सांस्कृतिक अभिलेखीकरण, इतिहासको पुनर्जागरण र पुस्तान्तरणको विषयलाई केन्द्रित गरेर छलफल भएको पनि बज्राचार्यले जानकारी दिनुभयो ।


लोप हुन लागेका बही संस्कृति, त्यहाँका पुराना परम्परा र रीतिरिवाजहरूको अभिलेख तयार गर्ने, मध्यकाल र त्योभन्दा अगाडिदेखि विकास भएका बौद्ध विहारहरूको ऐतिहासिक पक्ष केलाउँदै नयाँ तथ्यहरू सार्वजनिक गर्ने, र युवा पुस्तालाई आफ्नो रैथाने संस्कृति र गौरवपूर्ण इतिहासप्रति जागरूक बनाउने जस्ता विषयमा केन्द्रित भएर सो क्षेत्रका विज्ञहरुले धारणा राखेका थिए ।

 

बौद्ध कलाअन्तर्गत बहिलभित्र संरक्षित मूर्तिहरू, पौभा चित्रकला, र विशेषगरी गुँला महिनामा गरिने ‘बही द्योः ब्वयेगु’ परम्परालाई कसरी अन्तर्राष्ट्रिय स्तरमा चिनाउने भन्ने विषयमा विज्ञहरूले सुझाव दिएका थिए । विज्ञहरुले रैथाने मूर्त–अमूर्त सम्पदाको प्रवद्र्धन गर्न सक्दा सांस्कृतिक पर्यटनमा टेवा पुग्ने र काठमाडौंको पहिचान विश्वभर फैलाउन सकिने पनि धारणा राखेका थिए ।