बर्डफ्लुको प्रकोपका कारण १० जिल्लाका ५ लाखभन्दा बढी पन्छी नष्ट
काठमाडौँ, २६ जेठ । मुलुकका विभिन्न १० जिल्लामा बर्डफ्लु रोगको सङ्क्रमण फैलिएपछि सरकारले नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन गरेको छ । रोगलाई थप फैलिन नदिन पशुसेवा विभागले सङ्क्रमण पुष्टि भएका क्षेत्रमा आकस्मिक कार्य सुरु गरेको हो ।
पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार अहिलेसम्म १० जिल्लाका ७२ वटा फार्ममा बर्डफ्लु पुष्टि भएको छ । ती क्षेत्रका करिब ५ लाख १५ हजार पन्छी नष्ट गरिएको छ । सङ्क्रमणबाट विशेषगरी लेयर्स र स्थानीय जातका कुखुरा बढी प्रभावित भएका छन् ।
विभागका अनुसार पन्छी मात्र नभई सङ्क्रमण फैलिन सक्ने अन्य सामग्री पनि नष्ट गरिएको छ । द्रुत कार्य टोलीले हालसम्म ७ लाख गोटा अण्डा र १८३ टन दाना नष्ट गरेको छ । “यस रोगको कुनै उपचार छैन, सङ्क्रमण देखिनासाथ नष्ट गर्नु नै एकमात्र विकल्प हो,” महानिर्देशक दाहालले भने, “रोग नियन्त्रणका लागि पशु चिकित्सक र स्वास्थ्यकर्मीहरू अहोरात्र खटिएका छन् ।”
केही साताअघि झापा, मोरङ र सुनसरीबाट सुरु भएको बर्डफ्लु क्रमशः महोत्तरी, बारा, र चितवन हुँदै काठमाडौँ उपत्यका छिरेको थियो । हाल काठमाडौँ, भक्तपुर, ललितपुर र नवलपरासीमा समेत सङ्क्रमण देखिएको छ । चितवन र अन्य केही जिल्लामा रोग नियन्त्रण उन्मुख भए पनि काठमाडौँ उपत्यका अझै उच्च जोखिममा रहेको विभागले जनाएको छ ।
बर्डफ्लुका कारण क्षति व्यहोरेका किसानलाई सरकारले राहत उपलब्ध गराउने भएको छ । ‘बर्डफ्लु नियन्त्रण नियमावली, २०७८’ अनुसार पन्छी र अन्य सामग्री नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले लागत मूल्य तय गरी राहत वितरणको प्रक्रिया अघि बढाउनेछ ।
सङ्क्रमण देखिएको फार्ममा पन्छी नष्ट गरेको दुई महिनापछि मात्रै पुन: व्यवसाय सुरु गर्न पाइने कानुनी प्रावधान रहेको छ । विभागले पन्छीपालक किसानलाई जैविक सुरक्षामा विशेष ध्यान दिन र कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ ।