रवि लामिछानेको नागरिकता विवाद: सर्वोच्चले अन्तरिम आदेश नदिँदा रवि लामिछानेको सपथ लिने बाटो खुला

काठमाडौं, ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदको शपथ लिने बाटो खुलेको छ।

रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादबारे परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि उनले शपथ लिन पाउने भएका हुन्।

बुधबार बसेको संवैधानिक इजलाशले अन्तरिम आदेश नदिएको लामिछानेका वकिल सुनिल पोखरेलले जानकारी दिनुभयो । यस्तै अदालतले दुबै पक्षलाई बहसका बोलाएको भएपनि मिति भने नतोकिएको बताइएको छ ।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप लागेको थियो ।

रवि लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन मंसिर २८ गते रिट दायर भएको थियो।

लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्। उनले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिन्न। विदेशी नागरिकता लिने बित्तिकै नेपाली नागरिकता कायम रहन्न।

विदेशी नागरिकता लिने भएपछि आफैंले नागरिकता त्याग्नुपर्छ। तर उनले निष्क्रिय भैसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएको देखिन्छ।