समाज परिवर्तन गर्ने चलचित्र बगान

काठमाडौं, २८ असार । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताउनुभएकाे छ ।

बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा उहाँले चलचित्रमार्फत एकल आमाको कथा, सङ्घर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताउनुभएकाे हाे ।

“एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्‍याउने प्रयाश गरिएको छ । समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाई चलचित्रमार्फत उजार गरिएको छ”, उपसभामुख रानाले भन्नुभयाे। समाज रूपान्तरणमा पुरुषले महिलालाई साथ दिने मात्र नभई परिवर्तनकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

विशेष प्रदर्शनीमा चलचित्र ‘बगान’ हेर्न राजनीतिज्ञसँगै कलाकर्मी उपस्थित हुनुभएकाे थियाे । अभिनेत्री करिश्मा मानन्धरले चलचित्रको कथा मन परेर नै अभिनयसँगै निर्माणमा सहकार्य गरेको बताउनुभयाे । “यसमा मेरो र मेरो आमाको कथासमेत पाइन्छ । यसले समाज र परिवारको कारण आफूलाई स्वतन्त्र हुनबाट रोकिरहेका एकल आमालाई जीवन बाँच्ने प्रेरणा दिन्छ । म प्रतिनिधि पात्र मात्र हुँ ।” उहाँले दर्शकलाई परिवारका साथमा चलचित्र हेर्न आग्रह गर्नुभयाे ।

यसै चलचित्रमार्फत अभिनयको शुरुवात गर्नुभएकी अभिनेत्री प्रमिला कार्कीले पहिलो दर्शक नै चलचित्रकर्मी बन्दा उत्साह र डर दुवै रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे “निकै हिम्मत जुटाएर अग्रज कलाकारसँग बसेर आफूलाई पर्दामा हेरें । उहाँहरूले दिनुभएको प्रतिक्रियाले उत्साहित छु ।”

चलचित्रका गीतकार सुरेश वाग्लेले कथालाई अगाडि बढाउन गीतले भूमिका खेलेको बताउनुभयाे । उहाँले भन्नुभयने “मैले त कथा र पात्रलाई भेट गराए । बाँकी काम उहाँले नै गर्नुभयो । यसलाई स–परिवार हेर्न म आग्रह गर्दछु ।”

चलचित्रमा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा तयार भएको उक्त चलचित्रमा गौरीशङ्कर धुजुले छायाँकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाँकन, सन्देश शाहले सम्पादन तथा रेनिश फागोले रङ्ग संयोजन गरेका छन् । सो चलचित्र शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।