राजेन्द्र मल्लको सफलताः टुकीको उज्यालोमा शिक्षा, व्यावसायिक वैभवदेखि चेम्बरको अध्यक्षसम्म (भिडियो कथा)
काठमाडौं, ३० असार । केही दिनको अविरल वर्षपछि खुलेको काठमाडौंको असारको अन्तिम हप्ताको मध्यान्हमा काठमाडौंको भिडभाड छिचोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको निवास पुग्दा निवास परिसर प्रवेश गर्ने ढोका बन्द थियो । ढोकामा पुगेर भित्ताको घण्टी बजाएको केहीबेरमा ढोका खुल्यो । ढोका खुलेपछि हामी भित्र प्रवेश गर्यौ । प्रवेश गर्दा मुलढोकाबाट परिचित मुस्कानसहित बाहिर निस्किदैँ मल्लले स्वागत गर्नुभयो ।
कंक्रिटको सहरको परिचय बनाएको काठमाडौंको चक्रपथसँगै रहेको उहाँको निवास परिसर पुग्दा हामीलाई एकैछिन त घञ्चमञ्चको सहर छाडेर निकै टाढाको कुनै गाउँको सुन्दर हरियाली भित्र लुकेको सुन्दरवस्ती पुगेको अनुभूति भयो । जसरी वर्षाका बेलाको निरन्तरको झरीपछि खुलेको आकास सुन्दर देखिन्थ्यो त्यस्तै मल्लको निवास परिसर पनि निगालो अनि हरियालीसहितको फराकिलो बगैँचाले निकै सुन्दर देखिन्थ्यो । हामीले ती सुन्दर दृष्यलाई क्यामेरामा कैद गरेपछि मल्ललाई केहीबेर त्यही बगैँचामा अनौपचारिक कुराकानी गर्ने अनुमति माग्यौँ ।
उहाँको अुनमतिसँगै त्यहि सुन्दर बगौँचामा डुल्दै उहाँको बाल्यकाल र जीवन भोगाइका सम्झनाबारे खोतल्ने प्रयास गर्यौ । हालको शंखरापुर नगरपालिका वडा नम्बर–३ लप्सेफेदीमा जन्मिनु भएका मल्ल आफ्नो बाल्यकालबारे निकै मज्जाले खुल्नुभयो । कक्षा–१० सम्मको शिक्षा साँखुकै भाग्योदय माध्यामिक विद्यालयबाट पूरा गर्नुभएका मल्ल आज भन्दा करीब ५०–५५ वर्ष अघिको बाल्यकालमा फर्किदाँ नोस्टाल्जिया हुनुभयो ।
कक्षा–१० सम्मको शिक्षा साँखुकै भाग्योदय माध्यामिक विद्यालयबाट पूरा गर्नुभएका मल्ल आज भन्दा करीब ५०–५५ वर्ष अघिको बाल्यकालमा फर्किदाँ नोस्टाल्जिया हुनुभयो
अहिले नमूना सहर बन्दै गरेको साँखुमा उहाँले त्यतिबेला टुकीको उज्यालोमा विद्यालय तहको अध्ययन पूरा गर्नुभएको थियो भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, यथार्थ त्यहि थियो । अहिले काठमाडौंबाट केहीबेरको यात्रामा पुग्न सकिने साँखुको ५०–५५ वर्ष अघिको इतिहास उहाँले बताउँदै गर्दा हामीलाई अनौठो कथा जस्तो लागिरहेको थियो । साँखु त्यतिबेला सहरसँगै जोडिएको काँठ होइन विकट गाउँ जस्तै कष्टकर रहेछ ।
उहाँका पिता त्यतिबेला नै व्यापार–व्यवसायमा संलग्न हुनुहुँदो रहेछ । पाँच दाजुभाई मध्येका कान्छा मल्ललाई त्यतिबेला फुर्सदको समयमा पिताजीको व्यापार–व्यवसायमा सहयोग गरेको अहिले पनि मानसपटलमा ताजै रहेछ । सामान्य गाउँले परिवेशमै हुर्किनु भएका मल्लको एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि २०३७ सालमा सरस्वती क्याम्पसमा भर्ना भएपछि मात्रै सहरको परिवेशसँग घनिष्ठ साइनो गाँसिएको रहेछ । आइकम अध्ययन गर्दै गर्दा नै व्यापार–व्यवसायतर्फ मोडिएका मल्लको ध्यान विस्तारै त्यसैतर्फ केन्द्रित भएको रहेछ ।
सामान्य गाउँले परिवेशमै हुर्किनु भएका मल्लको एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि २०३७ सालमा सरस्वती क्याम्पसमा भर्ना भएपछि मात्रै सहरको परिवेशसँग घनिष्ठ साइनो गाँसिएको रहेछ
उहाँले कुराकानीकै सन्दर्भमा पिताजीले भनेको निकै रमाइलो किस्सा हामीलाई सुनाउन भ्याउनुभयो । त्यतिबेला काभ्रेदेखि सिन्धुपाल्चोकसम्मका मानिसहरु गाउँबाट अन्न लिएर साँखु आउने र त्यहाँबाट नुन, तेलदेखि कपडासम्म लिएर फर्किने रहेछन् । मल्लका पिताजीको त्यसैबेला व्यापार–व्यवसायको लहरो सिन्धुपाल्चोकदेखि काभ्रे, रामेछापसम्म फैलिएको रहेछ । व्यापार–व्यवसायमा पोख्त उहाँका पिताले त्यतिबेला नै मल्ललाई ‘व्यपारीले हात्ती पाल्न सक्छन् तर जागिर खायो भनेचाँहि श्रीमती पाल्न पनि धौधौ हुन्छ है’ भन्दै व्यापार–व्यवसायतर्फनै लाग्ने उर्जा भरिदिनुभएको रहेछ । पिताजीका ती भनाई नै मल्ललाई व्यापार–व्यवसायमा लाग्न प्रेरणा बनेका रहेछन् ।
हामी मल्लसँग केहीबेर त्यहि सुन्दर बगैँचामा डुल्दै कुराकानीपछि काठको बुट्टेदार मुलढोका हुँदै भित्र प्रवेश गर्दै गर्दा मल्लले १० वर्षको उमेरमा पहिलो पटक छालाको जुत्ता लगाएको, पैतालामा ठेला उठेको जस्ता धुमिल सम्झनाहरुको बेलिविस्तार लगाउनुभयो ।
कुराकानी गर्दै हामी बैठक कोठामा छिर्दा एक्वारियममा माछाहरु आफ्नै पारामा खेलिरहेका थिए । मल्लले निवासमा एक्वारियम राख्न थालेको समय र जेठा छोराको उमेर हाराहारीकै रहेछ । जेठो छोराको रहरले मल्लले पहिलो पटक एक्वारियम ल्याउनु भएको थियो रे, त्यसपछि अहिलेसम्म उहाँको निवासमा एक्वारियम निरन्तर रहेछ ।
एक्वारियमको माथि मल्लका दुई छोरा, श्रीमती र आफूसहितको ठूलो तस्बिर शोभायमान भएर कोठाको शोभा बढाइरहेको थियो भने टेबुलमा केही थान एल्बम असरल्ल थिए । उहाँले ती एल्बम मध्येबाट एउटा एल्बम उचाल्नुभयो । ती एल्बममा उहाँको कलेज जीवनका रमाइला पलहरु सजिएका थिए ।
विदेश भ्रमणका रोमाञ्चक क्षणहरु, जीवनका उतार–चढावका पलहरु, अनि पारिवारिक भेटघाट र व्यवसायिक भेटघाट अनि पदक, सम्मान र पुरस्कारका इतिहास पनि ती एल्बममा कैद भएर बसेका थिए । केहीबेर मल्ल एल्बममा कैद भएका तस्बिरसँगै विगतमा हराउनुभयो । उहाँको मुहार ती एल्बमका तस्बिरका पल जस्तै घरीघरी परिवर्तन भएको अनुभूति हुन्थ्यो ।
स्नातक अध्ययन गर्दैगर्दा अर्थात २०३९ सालमा मल्लका पिताजीको देहावसान भएको रहेछ । त्यसपछि उहाँमा पेशाप्रतिको महत्व झन बढ्दै गएछ । पिताजी र परिवारको रेखदेखमा हुर्किनुभएका मल्ललाई पिताजीको देहान्तपछि विस्तारै काठमाडौंमा घर बनाउने हुटहुटी बढ्दै गएछ । नभन्दै आफ्नो २२ वर्षको कलिलो उमेरमै उहाँले त्यो सपना पूरा गरेको इतिहास बताउँदै गर्दा माता (आमा)ले तिम्रो घर बनाउने रहर पूरा गर्नू भन्दै गरगहनाको पोको थमाएको प्रेरणादायी इतिहासबारे पनि उहाँ खुल्नुभयो । आमाले आफ्ना सन्तानप्रति देखाएको मायाको सागर थियो त्यो । आमाले सन्तानप्रति देखाएको स्नेहीभावले अझ मल्ललाई आमाका गहना बेचेर होइन आफ्नै मेहनत र परिश्रमबाट घर बनाउने हुटहुटी बढेछ ।
आफ्नो २२ वर्षको कलिलो उमेरमै उहाँले त्यो सपना पूरा गरेको इतिहास बताउँदै गर्दा माता (आमा)ले तिम्रो घर बनाउने रहर पूरा गर्नू भन्दै गरगहनाको पोको थमाएको प्रेरणादायी इतिहासबारे पनि उहाँ खुल्नुभयो
उहाँले पहिलो व्यापारको रुपमा क्षेत्रपाटी नजिकै क्वा बहालमा पसल सञ्चालन गर्नुभएको रहेछ । तर, धेरैले उधारो लगेपछि व्यापार नै डुब्ने अवस्थामा पुगेछ । तर, उहाँले कहिल्यै हार खानु भएन । २०४५ सालमा ज्वाइन्ट भेन्चर ट्रेडिङ प्रालिबाट ग्लोबल टेन्डरमा सहभागी भई युनाइटेड मिसन टु नेपाल आयोजनामा उहाँ समान सप्लाई गर्ने कामको थालनीमा लाग्नुभयो । त्यहीँबाट सुरु भएको रहेछ उहाँको अन्तर्राष्ट्रिय व्यापार ।
उहाँले त्यसको दुई वर्षपछि आर्थात २०४७ सालमा एसियाटिक इन्टरनेसनल ट्रेडिङ प्रालि सञ्चालनमा ल्याउनु भएको रहेछ । आफ्नो एकल स्वामित्वको उक्त कम्पनीमार्फत उहाँले त्यतिबेला हङकङ, सिंगापुर, चीन, थाइल्यान्ड, मलेसिया र भारत गरी छ वटा देशबाट समान ल्याएर देशभर रहेका डिलरहरूमा बेच्ने कामको सुरुवात गर्नुभएको रहेछ । उहाँसँग हामीले उहाँको व्यवसायी सफलताका उतार–चढावबारे कुराकानी गर्दै उहाँले विभिन्न समयमा प्राप्त गरेको पदक, सम्मानपत्र र उपहारहरु त्यहि बैठक कोठाका भित्ताभरी सजिएर बसेका थिए । हामीले उहाँसँग ती पदक, सम्मान र उपहारबारे पनि जिज्ञासा राख्यौँ ।
उहाँसँग हामीले उहाँको व्यवसायी सफलताका उतार–चढावबारे कुराकानी गर्दै उहाँले विभिन्न समयमा प्राप्त गरेको पदक, सम्मानपत्र र उपहारहरु त्यहि बैठक कोठाका भित्ताभरी सजिएर बसेका थिए । हामीले उहाँसँग ती पदक, सम्मान र उपहारबारे पनि जिज्ञासा राख्यौँ
व्यापारबाट विस्तारै सफलता हात पार्दै गएपछि उहाँले कर्पोरेट क्षेत्रमा हात हाल्नु भएको रहेछ । आज भन्दा २६ वर्ष अघि एलाइन्स इन्स्योरेन्स नामबाट खोलेको संस्था अहिले प्रभू इन्स्योरेन्सको नामले चर्चित छ । त्यसैगरी २०६० सालमा खोलेको उहाँको स्वामित्वको भक्तपुर इट्टा–टायल उद्योग पनि अहिले निकै चर्चित छ । उहाँले ती कर्पोरेट संस्थाहरुको स्थापना, अहिलेको अवस्थालगायतका बारेमा बेलिविस्तार लगाउनुभयो ।
उहाँकै नेतृत्वमा अहिले शंखरापुरमा तिलौरा रिसोर्ट सञ्चालनमा रहेछ भने उहाँ माइलुङ हाइड्रोपावर लिमिटेडसँग पनि संलग्न हुनुहुँदो रहेछ । शिक्षाक्षेत्रमा उहाँसहितको टिमले कान्तिपुर इन्जिनियरिङ कलेज सञ्चालनमा ल्याएको रहेछ भने उड्डयन क्षेत्रमा समेत उहाँको लगानी रहेछ । उहाँ मनाङ एयरको सञ्चालक समेत हुनुहुन्छ । नगरकोट र शंखरापुरमा कृषि व्यवसायको सुरुवात गर्नुभएका उहाँले हजारौँलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा रोजगारी दिइरहनु भएको छ ।
बैठक कोठामा केहीबेरको कुराकानीपछि उहाँले आफूले घरमै कार्यालय बनाएको कोठातिर जाने र कुराकानी गर्ने प्रस्ताव गर्नुभयो । उहाँको आग्रह अनुरुप उहाँसँग माथिल्लो तलामा उक्लिदै गर्दा भित्तामा निवर्तमान राष्ट्रपति, उपराष्ट्रपति र म्यान्मारकी लोकतन्त्रवादी नेत्रृसँग उहाँले विभिन्न समयमा खिचेका तस्बिर सजाएर राखिएको रहेछ । उहाँले ती तस्बिरबारे पनि केही जानकारी गराउनुभयो ।
माथिल्लो तलामा उक्लिदै गर्दा भित्तामा निवर्तमान राष्ट्रपति, उपराष्ट्रपति र म्यान्मारकी लोकतन्त्रवादी नेत्रृसँग उहाँले विभिन्न समयमा खिचेका तस्बिर सजाएर राखिएको रहेछ
हामी त्यसपछि उहाँको कार्यकक्षमा पुग्यौँ । त्यहाँ पनि हामीले उहाँसँग मुलुकको अर्थतन्त्रको अवस्था, राज्यले खेल्नुपर्ने भूमिका, व्यवसायीहरुको तर्फबाट गर्नुपर्ने पहललगायतका विषयमा कुराकानी गर्यौ । हामी कुराकानी सकेर कार्यकक्षबाट बाहिर निस्किदै गर्दा मल्लकी धर्मपत्नी कान्ति मल्ल टुप्लुक्क देखापर्नुभयो । कान्तिसँग जम्काभेट भएपछि केहीबेर दुबै जनालाई सँगै राखेर उहाँहरुको ४० वर्षे बैबाहिक जीवनका रोमाञ्चक पलहरुबारे खोतल्ने प्रयास गर्यौ । सुरुमा त उहाँले अलिक अप्ठ्यारो मान्नुभयो । हामीले आग्रह गरेपछि उहाँ केही कुराकानी गर्न तयार हुनुभयो ।
दुबै जनालाई सँगै राखेर उहाँहरुको ४० वर्षे बैबाहिक जीवनका रोमाञ्चक पलहरुबारे खोतल्ने प्रयास गर्यौ । सुरुमा त उहाँले अलिक अप्ठ्यारो मान्नुभयो । हामीले आग्रह गरेपछि उहाँ केही कुराकानी गर्न तयार हुनुभयो
नयाँ दुलाह–दुलही जस्तो एकै ठाउँमा बस्नुभएका मल्ल जोडीको अन्तरंग कुराकानीबारे उठान गर्दा कान्तिका केही रोमाञ्चित देखिनुभयो । राजेन्द्रको दाहिने गोडामा देब्रेहात राख्दै कान्तिकाले राजेन्द्र जस्तो असल र इमान्दार जीवनसाथी पाउँदा निकै खुशी भएको बताउनुभयो । कामकामकाम भन्ने राजेन्द्रको कमजोरी भए पनि त्यसैले अहिलेसम्मको सफलता हात परेको भन्दै स्वस्थ्यमा भने ख्याल गर्न उहाँले हामीलाई साक्षी राखेर राजेन्द्रलाई आग्रह गर्नूभयो ।
राजेन्द्रले पनि कान्तिको प्रशंसामा निकै शब्द खर्च गर्नुभयो । हामी कुराकानी गरेर विदा हुँदै गर्दा कान्तिले एउटा तस्बिर आफ्नो मोवाइलमा देखाउँदै परिवारपरिवार मिलेर बस्दाको जति आनन्द आफूलाई अरु केहीमा प्राप्त नहुने भन्दै त्यो तस्बिर पनि भिडियो रिपोर्टमा राख्न मिल्छ भने राखिनु दिनु हैँ भन्दै त्यति मात्रै आग्रह गर्नुभयो । त्यतिबेलासम्म मल्लको निवास परिसरमा निगालोको छायाँ छाड्दै घाम पनि आफ्नै गतिमा चन्द्रागिरी आसपासको डाँडाबाट अलप हुँदैथियो । हामी दुबै जनासँग विदा माग्दै भर्याङबाट ओरालो झर्यौ ।