नयाँ नेपाली चलचित्र ‘लुङा’ शुक्रबारदेखि प्रदर्शनमा

काठमाडाैं, ५ साउन । नयाँ नेपाली चलचित्र ‘लुङा’ शुक्रबार प्रदर्शन भएको छ । समसामयिक विषयवस्तुमा आधारित चलचित्रलाई निर्देशक किरण राईले निर्देशन गर्नुभएको छ ।

बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीप जंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतका कलाकारले अभिनय गर्नुभएको चलचित्र सम्पूर्ण वर्गका दर्शकको लागि रहेको निर्देशक राईले जानकारी दिनुभयो । “यसलाई हामीले प्रेम कथानक शैलीमा तयार गरेका छौँ”, निर्देशक राईले भन्नुभयो ।

यसमा भुवन सिङ्ह राईले लेख्नुभएको कथालाई प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथाको स्वरूप दिनुभएको हो । काठमाडौँमा जिजिए ग्रुप र रीच इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनीले वितरण गरेको छ ।