होलीमा सुनिन छाड्यो ‘जोगिरा सरर…’, युवा पुस्ता विदेशिँदा मौलिकता सङ्कटमा

धनुषा, १३ फागुन । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर धुन ‘जोगिरा’ यतिबेला सुनिन छाडेको छ। श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म घरआँगन र चौतारीमा गाइने यो मौलिक गीत युवापुस्ताको विदेश पलायन र ‘डिजे संस्कृति’ को प्रभावसँगै लोपोन्मुख अवस्थामा पुगेको हो।
“कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग… जोगीरा सररर…!”

कुनै समय होली आउनुभन्दा एक महिनाअघिदेखि नै गाउँघरमा यस्तै प्रेम, हास्य र सद्भावले भरिएका गीतहरू गुञ्जिन्थे। ढोल, मृदङ्ग, झ्याल र डम्फाको तालमा समूहगत रूपमा गाइने यिनै विशेष गीतलाई मिथिलामा ‘जोगिरा’ भनिन्छ। तर, अहिले यी भाकाहरू विरलै मात्र सुन्न पाइने स्थानीय संस्कृतिप्रेमीहरू बताउँछन्।

मिथिला नगरपालिका–२, नक्टाझिजका ७२ वर्षीय रामपृत महतो पुराना दिन सम्झँदै भन्छन्, “पहिला वसन्त पञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँगाउँ घुमेर जोगिरा गाइन्थ्यो। अहिले न ढोल बज्छ, न मृदङ्ग। फागुका गीत नै सुन्न छाडियो।”

उनका अनुसार पुराना पुस्ता उमेरले थलिँदै जानु र युवा पुस्ता रोजगारीका लागि विदेश पलायन हुनुले यो परम्परा सङ्कटमा परेको हो। “पुराना परम्परा जानेका साथीहरू धेरै बितिसक्नुभयो। हामीमा गाउने रहर अझै छ, तर साथ दिने युवा गाउँमा छैनन्,” क्षीरेश्वरनाथ नगरपालिकाका एक स्थानीय वृद्ध गुनासो गर्छन्।

हराउँदै पौराणिक प्रसङ्ग, भित्रिँदै अश्लीलता
जोगिराले सामाजिक भेदभाव र आपसी रागद्वेष मेटाउँदै समानता र सद्भावको सन्देश दिन्थ्यो। हरिहरपुरका ७० वर्षीय रामसुन्दर महतो जोगिराको पुरानो शैली र पौराणिक प्रसङ्ग यसरी सुनाउँछन्–

“किनका के हाथ कनक पिचकारी, किनका के हाथ अबीर झोरी ? रामजी के हाथ कनक पिचकारी, सियाजी के हाथ अबीर झोरी… जोगिरा सररर…!”

तर अहिले यस्ता पौराणिक प्रसङ्ग, भक्ति र ख्यालठट्टाले भरिएका मौलिक गीतको स्थान उच्छृङ्खल गीत र आधुनिक डिजे बाजाले लिएको छ। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कर्ण डिजेको बढ्दो प्रभावका कारण जोगिराको मौलिकता हराउँदै गएको बताउँछन्। जनकपुरधाम–१२ का सतीशलाल कर्ण पनि अचेलका गीतमा जीवनको उमङ्ग र धार्मिकताभन्दा अश्लीलता बढी सुनिने गरेको दुखेसो पोख्छन्।

संस्कृतिविद् किशोरी साहका अनुसार होली र सङ्गीतबीच गहिरो सम्बन्ध छ। “सङ्गीतबिना होलीको परिकल्पना नै गर्न सकिँदैन, यसले मनभित्रका कुण्ठित भावनालाई समेत शुद्ध पार्छ,” उनी भन्छन्।

यस्तै, संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडी पश्चिमी प्रभाव र अश्लीलताले गाउँघरको माटोको सुगन्ध बोकेको मौलिक जोगिरालाई विस्थापित गर्दै लगेको बताउँछन्।

संरक्षणको प्रयास र चुनौती
मिथिलाञ्चलमा वसन्त पञ्चमीदेखि सुरु हुने होली गीत मिथिला माध्यमिकी परिक्रमासँग जोडिएको सांस्कृतिक परम्पराको अभिन्न हिस्सा हो। यस परम्परालाई जोगाउन साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्र विमल सामूहिक पहलको आवश्यकता औँल्याउँछन्। उनी भन्छन्, “होली यस्तो हुनुपर्छ जहाँ महिला र पुरुष निर्धक्क भएर रमाउन सकून् र विश्वसामु मिथिलाले उदाहरणीय सन्देश दिन सकोस्।”

यसैबीच, मौलिकता जोगाउने प्रयासस्वरूप जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् (मिनाप) ले पछिल्ला वर्षहरूमा ‘जोगिरा प्रतियोगिता’ आयोजना गर्दै आएको छ। यद्यपि, परम्परागत जोगिराको पूर्ण संरक्षणका लागि राज्य, स्थानीय तह र समुदायस्तरबाटै सुदृढ र प्रभावकारी पहल हुनुपर्नेमा संस्कृतिप्रेमीहरूको जोड छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *