लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेट
सिद्धार्थनगर (भैरहवा), ८ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटमा सङ्घीयताको सबलीकरणका लागि प्रदेश तहलाई थप बलियो बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।
साथै अन्तरप्रदेश समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत दुवै पक्षबीच विचार आदानप्रदान भएको हो । भेटका क्रममा लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयार गरिरहेको नीति तथा कार्यक्रमबारे पनि छलफल गरिएको थियो । प्रदेश प्रमुख मियाँले चालु आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रम तथा योजनाको समीक्षा गरेरमात्र आगामी योजना अघिबढाउन सुझाव दिनुभयो ।
उहाँले सम्पन्न भएका कामको उपलब्धि र सम्पन्न हुन नसकेका योजनाको कारण पहिचान गरेर प्रभावकारी कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।