प्रधानमन्त्री संसद्को अङ्ग हुन् कि छुट्टै साम्राज्यका सम्राट? : सांसद अर्जुननरसिंह केसी

काठमाडौँ, ७ जेठ। नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति अनुत्तरदायी बनेको भन्दै कडा आलोचना गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको हो।

प्रधानमन्त्री शाहले नै अहिले गृह मन्त्रालयको समेत कार्यभार सम्हालिरहनुभएको सन्दर्भ जोड्दै केसीले उहाँ संसद्प्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो। “प्रधानमन्त्री नै अहिले गृह मन्त्री हुनुहुन्छ, जुन मन्त्रालयले देशका गम्भीर विषयहरूलाई सम्बोधन गर्नुपर्छ,” केसीले भन्नुभयो, “तर उहाँ संसद्को अङ्ग हो कि होइन, मैले थाहा पाउन सकेको छैन। उहाँ कुनै छुट्टै साम्राज्यको टापुको सम्राट हो कि संसद्को अभिन्न अङ्ग हो? यसतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु।”

सम्बोधनका क्रममा सांसद केसीले अबको १५ दिनपछि सुरु हुने मनसुन र त्यसले निम्त्याउन सक्ने प्राकृतिक विपत्तिको पूर्वतयारीबारे सरकारको गम्भीरता खोज्नुभएको छ। विगतका वर्षहरूमा भएको धनजनको क्षति र सरकारी बेथितिलाई नदोहोर्‍याउन उहाँले चेतावनी दिनुभयो।
“विगतका कमजोरीहरू सच्याएर मात्रै हामी नयाँ निर्माणको दिशामा अघि बढ्न सक्छौँ,” उहाँले भन्नुभयो, “एउटा निश्चित अवधारणा र ठोस कार्ययोजनाबिना विपद्को सामना गर्न सकिँदैन। विगतमा १३ हजार घरपरिवारको क्षति भयो, अहिले पनि त्यति नै भएर के भयो त भन्ने गैरजिम्मेवार ढङ्गले सरकार अघि बढ्नु हुँदैन।”

सांसद केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि तत्काल प्रभावकारी प्रतिकार्य योजना सार्वजनिक गर्न र संसद्लाई यसबारे जानकारी दिन सरकारसँग माग गर्नुभएको छ। पछिल्लो समय संसद्मा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थितिलाई लिएर प्रतिपक्षी दलहरूले निरन्तर प्रश्न उठाउँदै आएका छन्।