अस्ताए नेपालीका प्रिय गायक प्रशान्त : इण्डियन आइडलदेखि गोर्खा पल्टनसम्मको त्यो सरल यात्रा

काठमाडौँ, २८ पुस । सन् २००७ मा भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’ को उपाधि जितेर विश्वभरका नेपालीलाई एउटै सूत्रमा गाँस्न सफल गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा असामयिक निधन भएको छ ।

आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा ‘कार्डियक अरेष्ट’ (हृदयघात) का कारण उहाँले संसार छाड्नुभएको हो । प्रशान्तको निधनको खबरले दार्जिलिङदेखि नेपाल र विश्वभर छरिएका नेपाली भाषी समुदाय स्तब्ध बनेका छन् ।

नेपाली भाषीले पनि भारतीय सञ्चारमाध्यमको ठुलो मञ्चमा प्रतिष्पर्धा गर्न र जित्न सक्छन् भन्ने उदाहरण प्रशान्तले नै पेस गर्नुभएको थियो । उहाँ इण्डियन आइडलको अन्तिम १२ मा परेपछि सुरु भएको ‘प्रशान्त तामाङ जिताऊ अभियान’ ले विश्वभरका नेपालीलाई भावनात्मक रूपमा जोडेको थियो । उहाँको सफलतापछि नै भारतीय टेलिभिजनमा अन्य नेपाली भाषी प्रतिभाहरूका लागि ढोका खुलेको मानिन्छ ।

प्रशान्त जति ठुलो सेलिब्रिटी हुनुहुन्थ्यो, त्यति नै सरल र शालिन स्वभावका हुनुहुन्थ्यो । उहाँलाई नेपाली चलचित्रको पार्श्व गायनमा भित्र्याउने निर्देशक दीपक श्रेष्ठ र उहाँसँग निकट रहेका निर्माता राजेश घतानीका अनुसार प्रशान्तमा कहिल्यै ‘स्टारडम’ को घमण्ड देखिएन । उहाँले ‘हिम्मत–२’ बाट गायन र ‘गोर्खा पल्टन’ बाट अभिनयको यात्रा सुरु गर्नुभएको थियो । ‘गोर्खा पल्टन’ को ‘जाउँला रेलैमा सरर’ गीत आज पनि उत्तिकै लोकप्रिय छ ।

उहाँले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘निशानी’, र ‘परदेशी’ जस्ता सफल चलचित्रमा अभिनय गर्नुभयो । गत मङ्सिर ५ मा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उहाँको अन्तिम नेपाली चलचित्र बन्यो । नेपाली मात्र नभई उहाँले बलिउडको चर्चित वेब सिरिज ‘पाताल लोक’ र सुपरस्टार सलमान खानको आगामी चलचित्र ‘ब्याटल अफ गलवान’ मा समेत अभिनय गर्नुभएको थियो ।

पारिवारिक र जिम्मेवार अभिभावक
पछिल्लो समय प्रशान्त आफ्नो परिवार र तीन वर्षीया छोरीको स्याहारसुसारमा बढी केन्द्रित हुनुहुन्थ्यो । कोभिड–१९ का कारण आमा गुमाउनुभएका प्रशान्तले छोरीमा आफ्नै आमाको प्रतिबिम्ब देख्ने गरेको निकटस्थहरू बताउँछन् । श्रीमती गीता थापा एयरहोस्टेस भएका कारण उनी काममा जाँदा प्रशान्तले छोरीको पूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । आमाको अन्त्येष्टिमा सहभागी हुन नपाएको पीडा उहाँको मनमा सधैँ रहिरह्यो, जसका कारण उहाँ परिवारलाई बढीभन्दा बढी समय दिनुहुन्थ्यो ।

जन्मथलोमै अन्त्येष्टि गरिने
प्रशान्तको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि उहाँको जन्मथलो दार्जिलिङ लैजाने तयारी गरिएको छ । दार्जिलिङको जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) ले दिल्लीबाट शव लैजाने व्यवस्था मिलाएको छ । हाल दिल्लीको दिनदयाल अस्पतालमा शवको पोस्टमार्टम भइरहेको छ । उहाँको निधनले नेपाली सङ्गीत र चलचित्र क्षेत्रले एक इमान्दार र प्रतिभाशाली नक्षत्र गुमाएको छ ।