किरात सभ्यताको मुहान तुवाचुङ-जायजुममा साकेलाको रङ : पुर्खा र प्रकृतिको वन्दना

काठमाडौँ, जेठ ८ । समुन्द्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा रहेको तुवाचुङ-जायजुमको डाँडा आज ढोल र झ्याम्टाको तालले गुञ्जायमान थियो । किरात समुदायको आदिम पुर्खा र सभ्यताको उद्गमस्थल मानिने यो ऐतिहासिक थलोमा साकेला उँभौलीको अवसर पारेर परम्परागत भेषभूषामा सजिएका किरातीहरूको ठूलो मेला लाग्यो ।

तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको यस विशेष समारोहमा मुन्दुमी विधिअनुसार नछुङ (धामी) बाट तीन चुल्हाको पूजाआजा गरियो । प्रकृतिको आराधना र पितृको सम्झनापछि सुरु भयो – बृहत् साकेला सिली । खोटाङ मात्र होइन, छिमेकी जिल्लाहरू उदयपुर, ओखलढुङ्गा र भोजपुरदेखि दार्जीलिङ र सिक्किम सम्मका किरात राईहरू आफ्ना पुर्खाको माटो टेक्न यहाँ आइपुगेका थिए ।

सभ्यता र संस्कृतिको सङ्गम
किरात किंबदन्ती अनुसार तुवाचुङ-जायजुम त्यो भूमि हो, जहाँ आदिम पुर्खा तयामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको बीजारोपण गरेका थिए । आज पनि त्यहाँ तान बुन्ने ढुङ्गा र रैछाकुलेका प्राकृतिक मूर्तिहरू देख्न सकिन्छ । यी ऐतिहासिक प्रतीकहरूलाई संरक्षण गर्न अहिले तयामा र खियामाका पूर्णकदका प्रतिमाहरू समेत स्थापना गरिएका छन् ।

यस वर्षको साकेला उत्सवलाई थप उल्लासमय बनाउन चर्चित गायक राजेशपायल राई पनि तुवाचुङको डाँडामा पुग्नुभएको थियो । उहाँले साङ्गीतिक प्रस्तुतिमार्फत सहभागीहरूलाई नचाउनुभयो भने साकेला सिलीको औपचारिक उद्घाटन समेत गर्नुभयो ।

पर्यटकीय आकर्षण बन्दै मुन्दुम ट्रेल
नेपाल सरकारले निर्धारण गरेका १०० पर्यटकीय गन्तव्यमध्येको ‘मुन्दुम ट्रेल’ (पदमार्ग) मा पर्ने यो स्थान अचेल आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । संरक्षण समितिका महासचिव दिनेश राईका अनुसार, यस क्षेत्रको विकासका लागि १५१ रोपनी जग्गा खरिद गरी पदमार्ग र ढुङ्गाको पर्खालले घेराबारा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा निर्मित ७२२ मिटर लामो पदमार्गले यहाँ आउने आगन्तुकलाई सहज बनाएको छ ।

प्रकृति र श्रमको सम्मान
उँभौली पर्व केवल नाचगान मात्र होइन, यो श्रम र प्रकृतिको सम्मान पनि हो । “खेतीपाती सप्रियोस्, रोगव्याधि नलागोस् र प्राकृतिक विपत्ति नपरोस्” भन्ने साझा कामनाका साथ किरातीहरूले महिना दिनसम्म साकेला मनाउने गर्छन् । कोदोको चोखो जाँड, अदुवा र पहेँलो चामल चढाएर गरिने तीन चुल्हाको पूजाले मानिस र प्रकृतिबीचको अटुट सम्बन्धलाई दर्साउँछ ।

पछिल्लो समय स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा तुवाचुङ–जायजुमको भौतिक पूर्वाधारमा सुधार आएसँगै यहाँको रौनक फेरिएको छ । वैशाख पूर्णिमादेखि सुरु भएको साकेलाको लहर अहिले गाउँबस्तीमा फैलिसकेको छ । ढोल–झ्याम्टाको ताल र साकेलाको भाकाले पहाडी भेगलाई मात्र होइन, समग्र किरात सभ्यताको गर्विलो इतिहासलाई पुनर्जीवित गराइरहेको छ ।