ललितपुरमा ऐतिहासिक कात्तिक नाच शुरु, आज बाथः नाच देखाइने
ललितपुर, १४ कात्तिक । ललितपुरको ऐतिहासिक कात्तिक नाच हिजोदेखि शुरु भएको छ । ललितपुर मंगलबजारस्थित कात्तिक डबलीमा उक्त नाचको प्रदर्शन शुरु गरिएको हो । हिजोदेखि १० दिनसम्म यो नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
हिजो पहिलो दिन भक्त सुरदास नाच प्रदर्शन गरिएको थियो । यस क्रममा आज बाथः नाच प्रदर्शन गरिनेछ ।
यसरी नै क्रमशः भोलि युद्ध कला (शितज्वर विषम ज्वर युद्ध) नाच प्रदर्शन गरिनेछ भने त्यसपछि देवी प्याखं, जल शयन (मधु कटैव वध), वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला र दधि लीला नाच प्रदर्शन गरिनेछ ।
यो नाचमा भगवान बिष्णुका विभिन्न अवतार र कथाहरूलाई नाचका रूपमा प्रस्तुत गर्ने गरिन्छ ।
कात्तिक नाचलाई ललितपुरको अत्यन्त महत्वपूर्ण र ऐतिहासिक नाचका रुपमा लिने गरिन्छ । आजभन्दा करिब ३८० वर्ष अघि यो नाच शुरु भएको थियो । ललितपुरका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले यो नाच आरम्भ गरेको इतिहास पाइन्छ । यो नाचको लेखन भने राजा सिद्धिनरसिंह मल्लका गुरु हरिवंश राजोपाध्यायले गरेको बताइन्छ ।
कार्तिक नाच संरक्षण समितिका अनुसार हिजोदेखि शुरु भएको यो नाच कात्तिक डबलीमा हरेक राति ७ बजे प्रदर्शन गरिन्छ । कात्तिक नाच राति नै प्रदर्शन गर्ने परम्परा रहिआएको छ ।