इबोलाको नयाँ ‘बुन्डिबुग्यो’ भेरियन्टको त्रास: खोप नहुँदा ५० प्रतिशतसम्म मृत्युदरको जोखिम
जेनेभा/किन्सासा, १० जेष्ठ । विश्व स्वास्थ्य संगठन ले कंगो र युगान्डामा फैलिएको इबोलाको नयाँ र दुर्लभ प्रजातिलाई ‘अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ। ‘बुन्डिबुग्यो’ नामक यो नयाँ भेरियन्टको हालसम्म कुनै प्रमाणित खोप वा ठोस उपचार पद्धति उपलब्ध नभएका कारण स्वास्थ्य विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
अहिलेसम्मको अवस्था
कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो प्रकोपबाट ५१३ जना संदिग्ध संक्रमितमध्ये १३१ जनाको मृत्यु भइसकेको छ। संक्रमण कंगोको उत्तर-पूर्वी प्रान्त इटुरीबाट सुरु भई छिमेकी देश युगान्डा र दक्षिण सुडानको सीमानासम्म फैलिएको छ। युगान्डामा पनि एक जनाको मृत्यु भइसकेको छ भने १२० भन्दा बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ।
कति घातक छ त यो भेरियन्ट?
विज्ञहरूका अनुसार बुन्डिबुग्यो भेरियन्ट सन् २०१४-१६ मा पश्चिम अफ्रिकामा फैलिएको ‘जायरे’ भेरियन्टभन्दा फरक छ। जायरे भेरियन्टका लागि खोप उपलब्ध भए पनि बुन्डिबुग्योका लागि कुनै स्वीकृत खोप छैन। यसको मृत्युदर ३० देखि ५० प्रतिशतसम्म रहेको पाइएको छ। संक्रामक रोग विशेषज्ञ कृतिका कुपाली भन्नुहुन्छ, “यो भेरियन्ट पहिचान गर्न कठिन छ र द्वन्द्वग्रस्त क्षेत्रमा फैलिएकाले यसलाई नियन्त्रण गर्न झनै चुनौतीपूर्ण बनेको छ।”
खोप कहिलेसम्म तयार होला?
खोप विकासको प्रक्रिया जारी भए पनि यो कहिलेसम्म उपलब्ध हुन्छ भन्ने कुरा अनिश्चित छ। ‘मर्क’ कम्पनीले उत्पादन गरेको ‘एर्भेबो’ खोपले जनावरहरूमा गरिएको परीक्षणमा केही सुरक्षा देखाए पनि मानिसमा यसको प्रभावकारिता अझै पुष्टि हुन बाँकी छ।
विज्ञहरूका अनुसार कोभिड-१९ को समयमा जस्तो खोप विकासमा तीव्रता यहाँ देखिएको छैन। कोभिडले धनी राष्ट्रहरूलाई प्रत्यक्ष असर गरेकोले विश्वव्यापी रूपमा ठूलो लगानी भएको थियो, तर अफ्रिकी मुलुकहरूमा सीमित रहने इबोला जस्ता रोगमा विकसित मुलुक र ठूला औषधि कम्पनीहरूको चासो कम हुने गरेको गुनासो विज्ञहरूको छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया र प्रतिबन्ध
इबोलाको त्रास बढेपछि विभिन्न देशहरूले सतर्कता अपनाएका छन्।
-
बहराइन: कंगो, युगान्डा र दक्षिण सुडानबाट आउने यात्रीहरूलाई ३० दिनका लागि प्रवेश निषेध गरेको छ।
-
रुवान्डा: कंगोसँगको आफ्नो सीमाना बन्द गरेको छ।
-
अमेरिका: प्रभावित क्षेत्रबाट आउने गैर-अमेरिकी नागरिकहरूमाथि २१ दिने भ्रमण प्रतिबन्ध लगाएको छ।
-
एशियाली मुलुक: धेरैजसो एशियाली देशहरूले विमानस्थलमा स्वास्थ्य स्क्रिनिङ र क्वारेन्टाइनको व्यवस्था कडा पारेका छन्।
अबको बाटो
डब्लुएचओले हालका लागि १२ टनसम्म सुरक्षा सामग्री (PPE) र परीक्षण किटहरू प्रभावित क्षेत्रमा पठाएको छ। कंगोका विशेषज्ञहरूले अमेरिका र बेलायतबाट केही ‘प्रयोगात्मक खोप’ (Experimental Vaccines) आउने आशा व्यक्त गरेका छन्। यद्यपि, खोप नआउन्जेलसम्म व्यक्तिगत सुरक्षा र द्रुत पहिचान नै यसबाट बच्ने मुख्य उपाय रहेको डब्लुएचओले जनाएको छ।(स्रोत:अलजाजीरा)