कर्णाली करिडोरको हुम्ला खण्डमा सुक्खा पहिरो : खच्चामा सडक अवरुद्ध हुँदा यातायात ठप्प

काठमाडौँ, जेठ १४ । कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका–१, खच्चामा सुक्खा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार सडकभन्दा करिब १० मिटर माथिबाट खसेको पहिरोका कारण उक्त खण्डमा सवारी आवागमन बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सडकमा थुप्रिएको ठुला ढुङ्गा र माटोका कारण तत्काल यातायात सञ्चालन गर्न सकिने अवस्था छैन । पहिरो पन्छाउन सुरुमा साना उपकरण प्रयोग गरिए तापनि त्यसले सम्भव नभएपछि अहिले ठूला मेसिन (उपकरण) को खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) शङ्कर खड्काले ठूला उपकरण प्राप्त हुनासाथ पहिरो पन्छाएर सडक सुचारु गरिने जानकारी दिनुभयो। “साना मेसिनले पहिरो हटाउन नसकेपछि ठूला उपकरण ल्याउने प्रयास भइरहेको छ, त्यसपछि मात्रै बाटो खुल्नेछ,” उहाँले भन्नुभयो ।

सडक अवरुद्ध भएपछि माथिल्लो हुम्लाका पाँचवटा गाउँपालिकाका लागि छुटेका तथा त्यसतर्फबाट आउँदै गरेका मालवाहक र सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् । विशेषगरी खच्चा र सर्केगार्ड क्षेत्रमा सवारी साधनहरूको लाम लागेको छ। उक्त स्थानमा यसअघि पनि पटक–पटक सुक्खा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको स्थानीयले बताएका छन् ।