एउटा ट्राफिक प्रहरीको भागमा ९०६ सवारी साधन, कसरी सम्भव हुन्छ सडक सुशासन ?

traffic-

काठमाडौँ । अहिले सडक सुशासनमा खटिने ट्राफिक प्रहरीले औसत दैनिक ९०६ सवारी व्यवस्थापन गर्नुपर्छ । पछिल्लो समय सवारी दुर्घटना बढेसँगै सवारी नियम कार्यान्वयनको उच्च प्रयास सरकारले गरे पनि नियम पालना गराउने जनशक्ति भने सारै न्यून रहेको पाइएको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले दिनुभएको जानकारी अनुसार ट्राफिक प्रहरीको अहिले स्वीकृत दरबन्दी दुई हजार ३६५ छन् । अन्य ५०० प्रहरीलाई काजमा लगाइएको छ । तर, यातायात व्यवस्था विभागको २०७२ फागुनसम्मको रेकर्ड अनुसार मुलुकभर २१ लाख ४३ हजार १८६ सवारी दर्ता छन् । एक ट्राफिकले अहिले पाँच दशमलव २८ किलोमिटर सडकमा सवारी व्यवस्थापन गर्नुपर्छ । जनसङ्ख्या अनुपातमा एक ट्राफिकले १२ हजार १९९ जना व्यक्तिको सवारी व्यवस्थापन गर्नुपर्छ ।
गत वैशाख १ देखि भदौ १३ सम्म सवारी दुर्घटनामा ८१६ जनाको ज्यान गएको छ । मासिक औसत झण्डै २०० का दरले सवारी दुर्घटनामा नागरिकको ज्यान गएको गृह मन्त्रालयको तथ्याङ्क छ ।
वैशाखमा सबैभन्दा बढी नागरिकको ज्यान गएको छ । २०४ नागरिकले वैशाख महिनामा सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । साउन महिनामा दुर्घटनामा परी १८० जनाको निधन भएको छ । साउनमा काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटनामा २७ जनाको ज्यान गएको थियो ।
गृहको तथ्याङ्क अनुसार जेठ महिनामा २००, असारमा १५४, साउनमा १८० र भदौ १३ सम्मका दुर्घटनामा ७८ जनाको ज्यान गएको छ । गत शुक्रबार त्रिशूलीमा भएको दुर्घटनामा एकै स्थानमा २२ जना र आइतबार अर्घाखाँचीमा भएको जिप दुर्घटनामा १२ जनाको ज्यान गएको थियो ।
गृहको तथ्याङ्क अनुसार सबैभन्दा बढी दुर्घटनामा दुईपाङ्ग्रे सवारी पर्ने गरेका छन् । पाँच महिनाको अवधिमा दुई हजार ६५६ दुईपाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा एक हजार ७७६ गम्भीर घाइते भएको मन्त्रालयको रेकर्ड छ । प्रहरी तथ्याङ्कले दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई मानेको छ ।

भदौ १५ गते ।