सुप्रिम सहकारीको १ अर्ब रकम अपचलन गरेकाे आराेपमा जीबी राईसहित २८ जनाविरुद्ध मुद्दा दर्ता

रुपन्देही, ३ वैशाख । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीको १ अर्बभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा जीबी राईसहित २८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले रुपन्देही प्रहरीले गरेकाे अनुसन्धानपछि सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रहरीले सहकारीका मुख्य आरोपी गीतेन्द्रबाबु (जीबी) राई, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसहित २८ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रहरीले १ अर्ब २ करोडको बिगो मागदाबी गरे पनि अदालतले भने ९८ करोडको माग दाबी गरेर मुद्दा दर्ता गरेको हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले पक्राउ परेका पाँचसहित २८ जनालाई प्रतिवादी बनाएर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको बताउनुभयाे ।

प्रहरीले पक्राउ परेका ५ जनाबाहेक अन्यलाई फरार प्रतिवादी कायम गरि मुद्दा दर्ता गरेको जनाएको छ ।

प्रहरीले उक्त प्रकरणमा संस्थाका अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं, दीपक न्यौपाने र नीता थापा मगरलाई पक्राउ गरेको छ ।