एमालेको हीरक महोत्सव आज प्रचण्ड र देउवा प्रमुख वक्ता, माधव, झलनाथ र वैद्यसम्मलाई निम्तो

काठमाडौं, १० वैशाख । नेकपा एमालेले आज नेकपा स्थापना दिवसको अवसरमा हीरक महोत्सव मनाउँदैछ ।
नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको विशेष समारोह आयोजना गरिएको हो ।
आज आयोजित विशेष समारोहमा प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा बोलाइएको छ ।
समारोहमा तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री र पार्टी प्रमुखलाई पनि निमन्त्रणा गरिएको छ ।
त्यस्तै कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई पनि आमन्त्रण गरिएको छ । त्यस्तै सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेकपा (क्रान्तिकारी माओवादी)मा महासचिव मोहन वैद्यलाई पनि निम्तो गरिएको छ ।
मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार हीरक जयन्तीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित गरिने तय भएको छ ।