एमाले भैँसी होइन, गाली गर्दा पनि अरुले दिएका घाँस खानेः केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति पारस्पारिक लाभको सिद्धान्तका आधारमा अघि बढ्ने बताउनु भएको छ । राजधानीमा आइतबार पत्रकार गोपाल खनालले लेखेको पुस्तक ‘भूराजनीति’ को विमोचन गर्दै ओलीले यस्तो बताउनु भएको हो । उहाँले एमालेले सत्य, तथ्य र तर्कका आधारमा विदेश नीति तया गर्ने पनि बताउनुभयो । तर, कसैलाई रिझाउनका लागि विदेश नीति तय गर्ने पक्षमा एमाले नभएको दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले एमाले भैसी नभएको भन्दै विदेश नीति अरुलाई खुशी पार्नका लागि नभई आफ्नो राष्ट्रियतालाई ख्याल गरेर बन्नुु पर्ने तर्क अघि सार्नुभयो । उहाँले भैँसी अरुले गाली गर्दा पनि सहेर बस्ने र पछि घाँस वा कुँडो दिएपछि खाने भन्दै एमाले भैँसी नभएको तर्क गर्नुभयो ।
उहाँले कांग्रेसलाई शिकार खेलेर अघाएको बाघको समेत यस्तो संज्ञा दिनुभयो । ‘नेपाली कांग्रेस अहिले शिकार गरेर अघाएको बाघ जस्तो टाङ फारेर सुतेको छ,’ ओलीले भने ‘सही के–को ? गलत के–हो ? केही थाहा छैन, कुनै प्रतिक्रिया छैन ।’ उहाँले त्यसो भन्दा मञ्चमा बसेका कांग्रेस नेता महत रिसाएका थिए ।
ओलीले माओवादीलाई सरकारको नेतृत्व गर्न दिएपछि कांग्रेस आनन्दले सुतेको भनी आरोप पनि लगाउनुभयो । उहाँले अहिले शान्ति र संविधान कार्यान्वयनमा कालो बादल लागको भन्दै त्यो कालो बादल छिट्टै हट्ने बताउनुभयो । ‘रमाईला फाँटहरुमा अहिले कालो बादल लागको छ,’ उहाँले भन्नुभयो ‘अब यो छिट्टै हट्छ ।’ उहाँले एमाले स्वाधिन राष्ट्रका पक्षमा रहेको भन्दै कसैले धम्की दिदाँ चुप नलाग्ने पनि दाबी गर्नुभयो ।