कमल पोखरी निर्माणको ढाँचा तयार, ०७६ सालको छठसम्ममा निर्माण सम्पन्न गर्ने मेयर शाक्यको भनाई

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब महानगरपालिकाले खन्ने र पुर्ने काममा मात्र नभई पूर्वाधार विकास र निर्माणमा ध्यान दिने बताउनु भएको छ । कमल पोखरी निर्माणका लागि सहरी योजना आयोगले तयार पारेको प्रस्तावित ढाँचाका बारेमा छलफल गर्दै मेयर शाक्यले यस्तो बताउनु भएको हो ।
मेयर शाक्यले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी गर्नुभयो । सहरी योजना आयोगमै सरोकारवालासँग छलफल गर्दै मेयर शाक्यले काठमाडौँको मुटुमा अवस्थित उक्त पोखरी मात्र नभई महानगर भित्र रहेका अन्य पोखरी र पार्कलाई पनि व्यवस्थित र हरियालीयुक्त बनाउने बताउनुभयो ।
काठमाडौँ क्षेत्र नम्बर चारबाट निर्वाचित संघीय सांसद गगन थापा, प्रदेश सांसद नरोत्तम वैद्यलगायतसँगको छलफलमा मेयर शाक्यले महानगरपालिका सहरी सौदर्य बढाउने अभियानमा जुटेको पनि बताउनुभयो ।

कमल पोखरीको अस्थित्व जोगाउँदै निर्माण गर्ने मेयर शाक्यको भनाई थियो । उहाँले योजना पास भएर काम थालेको एक वर्ष भित्रमा पोखरी निर्माणको सम्पूर्ण काम सम्पन्न हुने भन्दै सबैलाई विकासमा हालेमालो गरेर अघि बढ्न आग्रह गर्नुभयो ।  छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागि सहज हुने गरी पोखरी निर्माणको ढाँचा तयार पारिएको छ । मेयर शाक्यले पोखरी सबै धर्म र आस्था भएकाहरुको साझा हुने भन्दै सो पोखरीको अस्तित्व जोगाउने गरी निर्माण गर्ने पनि जानकारी दिनुभयो ।

‘हामी कमल पोखरीलाई छठ पोखरी वा रानीपोखरीको दाई–भाई पोखरी बनाउन खोजिरहेका छैनौँ,’ मेयर शाक्यले भन्नुभयो, ‘हामी कमल पोखरीलाई कमल पोखरी नै बनाउन चाहन्छौँ ।’ उहाँले अब बन्ने कमल पोखरी वरीपरी चिल्र्डेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने पनि जानकारी दिनुभयो । बृद्धबृद्धालाई समेत ध्यानमा राखेर निर्माणको ढाँचा तयार सो पोखरीमा रात्रीकालिन वत्तीको समेत व्यवस्था गरिएको सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका संघीय सांसद गगन थापाले आफू निर्वाचित भएको क्षेत्रमा महानगरपालिकाले राम्रो योजना ल्याएको भन्दै योजना सफल बनाउन आफू लागि पर्ने बताउनुभयो । ‘नगर प्रमुखलाई सबै भन्दा पहिला धन्यवाद,’ थापाले कमल पोखरी निर्माणको ढाँचा हेरेपछि खुशी हुँदै भन्नुभयो, ‘निकै मेहनतका साथ काम गर्नुभएको रहेछ । मलाई एकदम मन पर्यो । हामी महानगरपालिकासँग मिलेर काम गर्न तयार छौँ । अर्को छठसम्ममा काम सम्पन्न गर्नेगरी योजनालाई अघि बढाऔँ ।’

सांसद थापाले कमल पोखरीको किनारामा रहेको प्रहरी कार्यालय स्थानान्तरण गर्न पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । मस्त्य विकास केन्द्रबाट पोखरीको स्वामित्व निक्र्यौल गर्नेलगायतका कुरामा पनि पहल गर्नुपर्ने उहाँको भनाई थियो । ‘ योजना राम्रो बनेको छ । कमल पोखरी विकास समाजसँग पनि छालफल गरौँ, त्यहाँका क्लवका साथीहरुसँग पनि सहकार्य गरेर अघि बढौँ,’ थापाले भन्नुभयो, ‘यो पोखरी कला र संस्कृतिलाई जोड्ने खालको होस ।’ कमल पोखरी संरक्षण योजनाबारे जानकारी दिदैँ सदस्य सविच बस्नेतले भन्नुभयो– ‘कमलपोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण हुने छ ।’

उहाँले पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिने, पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गर्ने, बास्तुमूर्ति स्थापना गर्ने लगायतको ढाँचा तयार पारेको जानकारी दिनुभयो । उहाँले पोखरी निर्माणका लागि सबै ढाँचा तयारी भए पनि पानीको सतह र निकासका बारेमा अझै समस्या भएको पनि जानकारी दिनुभयो । उहाँले पानीलाई कसरी दैनिक सफल गर्न सकिन्छ भन्ने बारेमा पनि अध्ययन भैरहेको भन्दै पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना बनाउने, विभिन्न ठाउँमा चैत्य राख्ने, पाँचओटा मकरधार निर्माण गर्ने तयारी भएको बताउनु भयो ।

फाउण्टेनको समेत अवधारणा ल्याएको उहाको भनाई थियो । बस्नेतले डिजाइन स्वीकृत भएपछि काम हुरु भएको मितिले ९ महिनाभित्र सबै काम सकिने पनि दाबी गर्नुभयो । सहरी योजना आयोगले महानगर भित्रका विभिन्न पार्क र पोखरीको डिजाइन तयारी पार्दै आएको छ । प्रदेश सांसद नरोत्तम वैद्यले पोखरीको डिलमा राजनीतिक दलका लागि भाषण गर्ने छुट्टै ठाउँको व्यवस्था गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले हरियाली व्यवस्थापन गर्न कठिन हुने भन्दै त्यसमा बढी जोड नदिन सुझाव दिनुभयो ।