प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट सुरु, प्रधानमन्त्री र मन्त्रीको यस्तो सम्वोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली वर्तमान सरकार हरेक दिन नयाँ–नयाँ कार्यक्रममा जुटिरहेको बताउनु भएको छ । भक्तपुर जिल्लाले शुभारम्भ गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यक्रममा सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सम्वोधनकै क्रममा उहाँले बर्तमान सरकार अहिले विदेश पलायन भएका युवालाई कसरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ भनेर समाधानको बाटो खोजिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले केही दिन अघि मात्रै युवाहरुले स्वदेशमै केही गर्न सक्छन् भन्ने सन्देश दिने उदेश्यले काठमाडौँ महानगरपालिकाले ज्ञान र सीप भएका युवाहरुको प्रतिस्पर्धा गराएको स्मरण गराउँदै भक्तपुरका पनि चार वटै नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले नेपाल अब डिजिटल नेपालतर्फ अघि बढेको भन्दै धरहरालगायतका पुर्ननिर्माणका कामले समेत गति लिएको बताउनुभयो । उहाँले वर्तमान सरकार महानअभियानमा जुटिरहेका बेला केही तत्व तर्सिएर विभिन्न खाले अवरोधमा लागेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले मुलुकलाई प्रतिगमततर्फ लैजाने निरर्थक प्रयास सफल नहुने पनि दावी गर्नुभयो । सरकार शान्ति, सुव्यवस्था र विकासमा लागेको छ भन्ने हेक्का नेपाली जनतालाई भएको पनि उहाँले प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले अहिले पनि केही शक्ति क्रान्तिका नाममा चन्दा उठाउने, पैसा उठाउने, हत्याहिंसा गर्ने काममा सक्रिय रहेको भन्दै त्यस्ता शक्तिलाई वाटो विराएकाहरुको संज्ञा दिनुभयो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्र श्रमप्रति सम्मान जगाउने कार्यक्रम भएको बताउनुभयो । उहाँले युवालाई देश भित्रै कामको सम्मान छ भन्ने भावना जागृत गर्नका लागि पनि प्रधानमन्त्री रोजगार कार्यक्रम आवश्यक भएको बताउनुभयो । उहाँले बेरोजगारहरुको सूचि तयार पार्ने काम सरकारले गरिरहेको पनि बताउनुभयो । उहाँले यतिबेला देशका विभिन्न स्थानीय तहहरुले हजारौलाई रोजगारी प्रदान गर्दै नेपालमा रोजगारीको अवसर छ भन्ने सन्देश दिएको पनि उहाँले बताउनुभयो । उहाँले आगामी पाँच वर्ष भित्रमा करीब पाँच लाख युवालाई रोजगारीको अवसर प्रदान गर्ने गरी सरकार लागि परेको बताउनुभयो । यो कार्यक्रम सबै नेपालीको साझा कार्यक्रम भएको भन्दै सफल बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

अब युवाले कामका लागि विदेश जाने दिनको अन्त्य हुने भन्दै भक्तपुर जिल्लाका सांसद महेश बस्नेतले यो पटक भक्तपुर जिल्लाका लागि मात्रै दुई करोड ४६ लाख प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन गरेको बताउनुभयो । उहाँले बेरोजगारहरुका लागि न्युनतम दैनिक ७ सय रुपैयाँ दिने ग्यारेण्टी भएको भन्दै बेरोजगारहरुलाई काम गर्न आग्रह गर्नुभयो । उहाँले यो कार्यक्रम श्रमप्रतिको सम्मान भएको पनि स्मरण गराउनुभयो । उहाँले उद्योग क्षेत्रसँग समन्वय गर्ने हो भने थप पाँच लाख युवालाई रोजगारी दिन सकिने बताउनुभयो । सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले सबै स्थानीय तहले समुदायमा आधारित श्रममुलक आयोजनाहरुमा बजेट विनियोजन गर्नुपर्ने भन्दै त्यसले प्रधानमन्त्री रोजगार कार्यक्रम थप सफल बन्ने बताउनुभयो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले स्थानीय तहका जनप्रतिनिधिले यसरी चासो दिएर कार्यक्र गर्नुले प्रधानमन्त्री रोजगार कार्यक्रमको महत्वलाई अझ बढाएको बताउनुभयो । उहाँले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आगामी वर्षका लागि पाँच अर्व १० करोड छुट्याएको जानकारी दिनुभयो । भक्तपुरमा मात्रै एक हजार बढीले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचि दर्ता गराएको बुझिएको छ ।