ओली र नेपालबीच वार्ता

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सम्मिलित नेताहरुबीच वार्ता भएको छ । नक्सालस्थित होटल मेरियटमा उहाँहरुबीच वार्ता भएको हो ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईकाअनुसार कार्यदल स्तरमा वार्ता सकारात्मक भएपछि अन्तिम सहमतिका लागि अध्यक्ष तथा वरिष्ठ नेताबीच वार्ता भएको हो ।

वार्तामा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, नेता विष्णुप्रसाद पौडेल, वरिष्ठ नेता नेपालसहित नेताहरु भीमबहादुर रावल र सुरेन्द्र पाण्डे वार्तामा सहभागी रहनुभएको थियो ।

सर्वोच्चमा वहस सकिएकै दिन गत सोमबारदेखि पुरानो कार्यदल व्यूँताएर दुवै पक्षबीच छलफल शुरुभएको थियो । दश सदस्यीय कार्यदलस्तरमा वार्ता सकारात्मक भएपछि अध्यक्ष तथा वरिष्ठ नेतालाई सहभागी गराएर सहमतिमा विट मार्ने तयारी यसअघि गरिएको थियो ।

सर्वोच्च अदालतले असार २८ गते सोमबार फैसला सुनाउने तयारी गरिरहेकाबेला सो अघि नै पार्टी एकताको सन्देश दिनेगरी एमाले आन्तरिक वार्ता र संवादमा जुटेको हो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल पक्षको माग सुनुवाई गर्ने विषयमा अधिक्तम लचिलो हुनुभएपछि पार्टी एकताको वातावरण निर्माण भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागपत्रमा हस्ताक्षर गरेका एमाले सांसदहरुले हस्ताक्षर फिर्ता नलिने अडान राखिरहेका बेला अध्यक्ष तथा नेता नेपालबीच सहमतिको प्रयास गरिएको छ । सहमति भएर संयुक्त विज्ञप्ती जारी भएमा सर्वोच्चमा बुझाइएको हस्ताक्षर स्वतः निस्क्रियप्रायः हुनेछ ।