कृषिमा आधुनिक प्रविधिको बढ्दो प्रयोग: लागतमा कमी र आम्दानीमा उल्लेख्य वृद्धि
काठमाडौँ, चैत ९ । मधेश प्रदेशका बारा र पर्सा जिल्लाका किसानहरू पछिल्लो समय कृषि कार्यमा आधुनिक प्रविधिको प्रयोगतर्फ आकर्षित भएका छन् । खेतीपातीमा मेसिनरी उपकरणको बढ्दो प्रयोगले उत्पादन लागत र समय बचत हुनुका साथै कृषकको आम्दानीमा समेत वृद्धि भएको छ।
एक दशक अघिसम्म परम्परागत ढङ्गले आलु खेती गर्दै आउनुभएका बारा, फेटा गाउँपालिका–३ का किसान पारस ठाकुरका लागि मजदुर अभाव र उच्च लागत मुख्य चुनौती थियो। तर, हाल ‘पोटाटो प्लान्टर’ र ‘पोटाटो डिगर’ जस्ता मेसिनको प्रयोगले उहाँको कृषि कर्ममा आमूल परिवर्तन ल्याएको छ। ठाकुरका अनुसार, पहिले प्रतिकठ्ठा तीन जना श्रमिक लगाउँदा रु. १,५०० खर्च हुने गरेकोमा हाल मेसिनको प्रयोगले मात्र ५०० रुपियाँमा सोही कार्य सम्पन्न हुने गरेको छ। प्रविधिको प्रयोगले लागत घटेपछि वार्षिक बचत १ लाख रुपियाँबाट बढेर ३ लाख रुपियाँ पुगेको उहाँको अनुभव छ।
स्थानीय सरकारले पनि कृषिको आधुनिकीकरणलाई प्राथमिकतामा राखेको छ। फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीले किसानहरूलाई मेसिनरी उपकरणमा अनुदान उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेटमा थप आधुनिक मेसिनहरू समावेश गरी उत्पादन वृद्धि गर्ने कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कृषि औजार अनुसन्धान केन्द्र रानीघाटका प्रमुख सचिनकुमार मिश्रले लामो अनुसन्धानपछि किसानको समय र खर्च घटाउने प्रविधिहरू कार्यान्वयनमा ल्याइएको बताउनुभयो। आलु मात्र नभई गहुँ खेतीमा पनि प्रविधिको प्रयोग बढ्दो छ। पर्साको जगरनाथपुरका किसान अभयप्रसाद यादवले ‘हारभेस्टर मेसिन’को प्रयोगले गहुँ काट्ने र झार्ने काम सहज भएको र श्रमिक अभावको समस्या समाधान भएको बताउनुभयो।
कृषि अनुसन्धान निर्देशनालयका निर्देशक विश्वेश्वरप्रसाद यादवले सरकारले प्रविधिमैत्री खेतीलाई प्रोत्साहन गरिरहेको उल्लेख गर्दै स्थानीय तहले सामूहिक खेतीका लागि प्रविधि हस्तान्तरणमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. कृष्ण तिम्सिनाले अबको कृषि प्रणाली परम्परागत शैलीबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “अत्याधुनिक प्रविधिको प्रयोगसँगै अपेक्षित लाभ लिन स्वदेशी उन्नत बीउबिजनको प्रयोगमा किसानहरू सजग हुन जरुरी छ।”
यसरी कृषिमा भित्रिएको यान्त्रिकीकरणले श्रम शक्तिको अभाव झेलिरहेका किसानहरूलाई राहत दिनुका साथै मुलुकको कृषि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिएको छ।